धनगढी। धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उनीहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो। कोरोना महामारीले थला परेको व्यापार फष्टाउन नपाउँदै सडक विस्तारकालागि धनगढी बजारमा तोडफोड भएपछि व्यापार, व्यवसाय न्यून भएको उनीहरूको भनाइ छ।
‘घर तोडफोड भएपछि चार महिना त सामान थन्क्याएर बस्नु प¥यो’, कपडा व्यापारी मुन्नालाल गुप्ताले भने, ‘व्यापार केही छैन । महिनाको भाडा तिर्न नै मुस्किल भइरहेको छ ।’ धनगढीमा ३५ वर्षदेखि व्यापार गर्दैआएको आफूले पहिलो पटक यस्तो सङ्कट झेलिरहेको उनले बताए। ‘पहिले बाहिरै कपडा राखेर व्यापार गर्दा राम्रो कमाई हुन्थ्यो’, उनले भने, ‘अहिले भाडा खर्च उठाउन धौधौ छ ।’ धनगढीको मुख्य सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र परेका संरचना गत दीपावलीपछि हटाउने कार्य थालेको थियो।
उपमहानगरपालिकाको डोजर चलेपछि कतिपय व्यवसायी विस्थापित भएका छन्। यसैगरी, केही घरधनी घरबारविहीन हुन पुगेका छन् ।कोरोनापछि अलि–अलि व्यापार व्यवसाय बढे पनि सटर तोडफोड भएपछि फेरि व्यापार घटेको जुत्ताचप्पल व्यवसायी शरण सिंहको भनाइ छ । मासिक २० हजार रुपियाँ सटर भाडा तिर्दैआएको उल्लेख गर्दै उनले भने, ‘भाडा चर्को छ, तर व्यापार छैन । अहिले हामी घाटामा छौँ ।’व्यापार नभएका कारण सामान थप्न पनि नसकेको उनले बताएका छन् । ‘बैङ्कबाट ऋण लिएर सामान थपौँ भने चर्को व्याज कसरी तिर्ने समस्या छ’ उनले भने, ‘अहिले त बैङ्कले व्यवसायीलाई ऋण दिन मानेका छैनन् ।’
धनगढी बजारको मुख्य सडक निर्माण हुँदासम्म आफूहरू व्यापार, व्यवसायबाटै पलायन हुने अवस्था आउने त हैन, भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको छ। सडक बन्न अझै धेरै वर्ष लाग्ने भएकाले तबसम्म व्यापार नै धराशायी हुने उनीहरूको भनाइ छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताए।पहिले घरधनीले सटरको मासिक १० हजार रुपियाँ भाडा लिदैंआएकोमा अहिले दुई हजार घटाएर आठ हजार गर्दा पनि तिर्न मुस्किल भइरहेको किराना व्यवसायी देवबहादुर साउँदले बताए। ‘कोरोनाभन्दा अगाडि व्यापार राम्रै थियो’, उनले भने। ‘अहिले चौपट भएको छ ।’
संरचना फुटाइएपछि व्यापारीहरू केही महिना सामान थन्क्याएर बस्न बाध्य भएका थिए । मर्मत सम्भार गरेर कतिपयले पसल राखी सके पनि धुलोका कारण व्यापार शून्यजस्तै भएको उनीहरूको गुनासो छ । यस्तै, कतिपय व्यवसायीले अझै पनि सामान राख्न नसकेको बताए । विभिन्न ठाउँमा अझै मर्मतको काम जारी रहेको छ ।कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताए । ‘पछिल्लो समय बैङ्कको ब्याजदरले पनि धेरै समस्या भयो’ उनले भने, ‘कतिपय व्यापारी पेसाबाटै पलायन हुने अवस्था आएको छ ।’कोरोना महामारीले गर्दा आर्थिक मन्दी भएको व्यवसायीहरूको भनाइ छ। मान्छेसँग पहिलेजस्तो पैसा नरहेका कारण सबैतिर व्यापार घट्दैगएको व्यवसायीको गुनासो छ ।गोरखापत्रबाट