काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी (सोमबार मात्रै एआइजी बढुवाको निर्णयमा परेका) श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ।
सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो। उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो। कैलालीका शेरबहादुर चन्दले ज्ञवालीविरुद्ध गत फागुनको दोस्रो साता अख्तियारमा उजुरी गरेका थिए।
अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहमा निर्देशन आएको स्रोतले बताएको छ। स्रोतका अनुसार गृहलाई प्रतिवेदन बुझाउन एक महिनाको समय सीमा तोकिएको छ। ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको छ।
तर, प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ। २०५० मंसिरको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना भएका ज्ञवालीको नागरिकताअनुसार १० दिन बढी नाघेको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको हो। उनले सुरूमा प्यूठान जिल्ला प्रशासनबाट नागरिकता लिएको र पछि आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि लिएको उजुरीमा भनिएको छ। नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेकोमा सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको बताइएको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको स्रोतले बताएको छ।यसअघि उमेर ढाँटेर सेवा प्रवेश गरेका डीआईजी अशोक सिंहले फागुन १० मा राजीनामा दिएका थिए।

