कैलाली। कैलालीमा एक विद्यालयले प्राथमिक तह राहत शिक्षकको दरखास्त दस्तुर चर्को रकम तोकेको छ। कैलालीको लम्कीचुहाको वडा नम्बर ७ बामनपुरको राष्ट्रिय माध्यमिक विद्यालयले करार राहतको प्राथमिक शिक्षक भर्ना गर्न खोलेको विज्ञापनमा ४ हजार १ सय दरखास्त दस्तुर तोकेको हो ।
फागुन २९ गते प्रकाशित सूचनामा चैत ५ गतेसम्म योग्यता पुगेको उम्मेदवारले दरखास्त दिनसक्ने उल्लेख गरेको छ। विद्यालयका प्रधानाध्यापक रामगुलाम चौधरीले यसअघि करार सूचिको उम्मेदवारको दरखास्त माग गरे पनि कसैको आवेदन नपरेकाले खुला विज्ञापन गरिएको बताए। आवेदन दस्तुर निकै बढी तोकिएको विषयमा अघिल्लो पटक पनि शिक्षक भर्ना गर्दा विद्यालयलाई १८ हजार घाटा लागेकाले यो पटक बढी तोकिएको तर शुल्कमा पुनर्विचार गर्न व्यवस्थापन समितिको बैठक बसिरहेको चौधरीले बताए ।


