काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेर बिदा भएकी छन् । भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आजै शीतल निवास छाड्दै छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीको विदाइ गरिएको छ भने पौडेलको स्वागत भएको छ ।
विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेलगत्तै भण्डारीले शीतलनिवास छाड्ने भएकी हुन् । बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरीको घरमा जाने भएकी हुन् । शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा जाने भएकी छन् । उनको घर बालुवाटारमा छ ।
यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी थियो । तर, त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्न लागेकी हुन् ।२०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारी देवर कैलाश भण्डारीकै घरबाट शीतल निवास छिरेकी थिइन् । २०७४ फागुन २९ मा दोस्रो कार्यकाल निर्वाचित भण्डारी सात वर्षपछि शीतलनिवास छाड्न लागेकी हुन् ।


