काठमाडौँ। चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ ।
आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन्। जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको थियो । जसपाले २५ फागुनमा नै रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो ।तर राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको थियो।