धनगढी। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कैलालीको कमिटीमा विवाद देखिएको छ। एमालेले देशैभर २ महिने पार्टी सुदृढीकरण तथा ग्रास रुट अभियान चलाइरहेका बेला जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा भने गुट, फुट र विवाद देखिएको हो।
स्रोतका अनुसार राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक शिवचन्द सोडारीले चिसापानीमा गुटसम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो। करीव १५/२० जनामात्र भेला गरेर जिल्ला सम्मेलनको नाम दिदै संगठनका केही कार्यकर्ता र पार्टीका जिल्ला कमिटीका केही अगुवा नेताहरु मात्रै सहभागी थिए। उक्त भेलाले विधानविपरीत जिल्लाका पदाधिकारी र सदस्यहरु एकलौटी रुपमा नियुक्त गरेको जनाइएको छ। राष्ट्रिय युवा संघ नेपालका जिल्लाका आधाभन्दा बढी सदस्यहरु तथा संगठनमा आवद्ध नेता तथा कार्यकर्ताहरुले संगठन र पार्टीको विधि विधानविपरीत बैठक तथा गुट भेलाहरु गरेर संगठनका मूल्य मान्यता कुल्चिने काम गरेको बताएका छन्।
संगठनका ८० प्रतिशत युवा नेता तथा कार्यकर्ताले सो गुट सम्मेलनको विरोध गरेका छन्। सो गुट सम्मेलनबारे राष्ट्रिय युवा संघ नेपालले पार्टी र राष्ट्रिय युवा संघको शीर्ष तहलाई ध्यानाकर्षण गराउने भएको छ। संगठनमा अराजकता नल्याउन आग्रह गर्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।तर संगठनका सुदूरपश्चिम इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजक भने उक्त बैठकबारे अनभिज्ञ छन्। त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही हुने समेत उनीहरूले बताएका छन्। तर, युवा संघ कैलालीका संयोजक शिवचन्द सोडारीले नीतिगत रुपमै बहुमत सदस्यको निर्णयबाट काम भएको बताए । केही साथीले सामान्य विरोध गरेपनि युवा संघ कैलालीमा कुनै विवाद र समस्या नरहेको उनले बताएका छन्।