धनगढी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन्।
सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए ।प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत पुग्ने देखिन्छ।
आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ। एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ ।५३ सदस्यीय सुदुरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १-१ रहेका छन् ।