काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले पार्टिका ८० जनालाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस गरेको छ। आम चुनावमा पार्टीभित्रबाट नै अन्तर्घात भएको भन्दै जनता समाजवादी पार्टी नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको हो ।
पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन आज पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेका छन् । कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । १५२ जना आरोपी नेतासँग बयान लिनुको साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँग पनि भेटेर कुराकानी गरिएको थियो।
कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ। त्यसमध्ये सबभन्दा बढी जसपाका अध्यक्ष उपेन्द्र यादव क्षेत्रका नेताहरू रहेको बताइएको छ । अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव हारेका हुन् । चुनावमा पार्टीकै शीर्ष नेताबाट असहयोग भएको कुरा समीक्षा बैठकमा उठेको थियो। ती नेताहरूसँग पनि कार्यदलले बयान लिएको थियो । स्रोतका अनुसार सप्तरी २ मा मात्र ३८ जनासँग कार्यदलले बयान लिएको छ ।
कोशी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदले छानबिन गरेको थियो। प्रतिवेदन बुझ्दै जसपाका अध्यक्ष यादवले पार्टीको अगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको नेता तथा कार्यकर्तालाई कारबाही हुने बताएको कार्यदलका संयोजक शिवलाल थापाले बताए।
प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन अध्यक्ष यादव प्रतिबद्ध रहेको बताउँदै उनले अगामी बैठकबाट सो प्रक्रिया अगाडी बढ्ने विश्वास व्यक्त गरे। यसअघि २०७४ चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने सिफारिस गरेको थियो। त्यसमध्ये आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो। तर त्यो प्रतिवेदन नै कार्यान्वयनमा नआएको तत्कालीन कार्यदलका संयोजक कान्दङ्वाले बताए। यसपटक अध्यक्ष यादव आफैले चुनाव हारेका कारण प्रतिवेदन कार्यान्वयनमा आउनेमा सबै विश्वस्त रहेको उनले बताए ।

