धनगढी : कैलालीको त्रिनगर ट्राफिक पोस्टका ईन्चार्ज प्रहरी नायव निरीक्षक (सई) नरिभान साउँद माथि छानविन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन परेको छ । हुलाकमार्फत ‘जनआवाज धनगढी’को नामबाट आएको पत्रमा निवेदक ‘जनताको गुनासो र सही छानविन’ लेखिएको छ । यद्यपि आरोप पत्रमा ‘हामी टेक्टर, ट्रक, अटो तथा गाडी व्यवसायीहरुको माग’ भनेर उल्लेख छ ।
पत्रकार महासंघ कैलालीको नाममा आएको पत्रमा सई साउँदमाथि विभिन्न आरोप लगाउँदै छानविन गरि कारबाही गर्नुपर्ने माग गरिएको हो । सई साउँद धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलको एकाउन्टेन्ट हुँदा भवन निर्माणका क्रममा विभिन्न नक्कली बीलहरु पेश गरि भ्रष्टाचार गरेको, त्रिनगर ट्राफिक पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्याधिक ज्यादती गरेको आरोप लगाइएको छ ।
चितवनमा एकाण्टेन्ट हुँदा भ्रष्टाचार गरि कारबाहीमा परेको व्यक्तिलाई ट्राफिकको तालिम नगरि ट्राफिक इन्चार्ज दिइएको र त्यसबारे छानविन गर्नुपर्ने मागसमेत गरिएको छ । भन्सारमा सवारी साधनबाट मासिक रुपमा असुली गर्ने गरेको आरोप लगाउँदै सई साउँदका विगतदेखिका क्रियाकलापलाई ध्यानमा राख्दै छानविन गरि बरखास्त गर्न माग गरिएको छ ।
यसैगरि विभिन्न बुँदामा सई साउँदको सर्टिफकेट छानविन गर्नुपर्ने, दीपेन्द्र प्रहरी स्कुलको भवन निर्माण सम्बन्धमा छानविन गर्नुपर्ने, ट्राफिक प्रहरीको तालिम नगरि त्रिनगर ट्राफिकमा जान मिल्ने वा नमिल्नेबारे छानविन गर्नुपर्ने, चितवन काण्डबारे पुनः छानविन गर्नुपर्ने र त्रिनगर ट्राफिकको असुली धन्दाबारे छानविन गर्नुपर्ने माग गरिएको छ ।

यि आरोप बारे ट्राफिक प्रहरी त्रिनगर ईन्चार्ज साउँदलाई बुझ्दा आफुमाथी रिशिभी साँद्न यि आरोप लगाइएको बताएका छन् । म त्रिनगर पोस्टको ट्राफिक ईन्चार्ज भएर आएपछि निकै कडाई गरेको छु साउँदले भने “त्यही कारण मसित रिश साँद्न म माथी उजुरी हालेको हुन सक्छ, मेरो इमान्दारिता देखेर रिश मान्नेहरु धेरै हुनुहुन्छ ।” आफु दिपेन्द्र प्रहरी स्कुल धनगढीको लेखापाल हुँदापनि कुनै किसिमको अनियमितता नगरेको उनले दावी गरे । मैले काम गरेपछि सबै ठाउँको अडिट हुन्थ्यो उनले भने “कोलेनिका देखी महालेखा सम्मको अडिट हुन्थ्यो म गलत भएको भए, उहि बेला कार्वाही भोग्थे नी, अनी चितवन काण्ड भनेर जो भनिएको छ, त्यो कुनै काण्ड थिएन म इमान्दारिताका साथ काम गर्ने गर्थे हाकिमले गलत गर्न खोज्दा मैले भनेको नमानेकै कारण तत्कालिन कार्यालय प्रमुख संग बादविबाद परेर मैले त्यहाँको लेखापालबाट छोडेको हुँ ।”
यता प्रदेस प्रहरीमा आएरपनि सबै प्रकृया पुगाएर काम गरिरहेको छु उनले भने “मेरो सबै कुराको मुल्याकंन गरेरै प्रदेश प्रहरी कार्यालयले मलाई यहाँ खटाएको हो, अहिले यही बिषयमा प्रदेश प्रहरी कार्यालय अत्तरियालेपछि छानबिन गरिरहेको छ, डि एसपीको कमाण्डमा छानबिन समिति गठन गरेर छानबिन भइरहेको छ, एदी म गलत भए कार्वाही भोग्न तयार छु, मैले गलत कुनै ठाउँमा गरेको छैन, मेरो करियरमाथी धब्बा लाउनेगरी षडयन्त्र भइरहेको छ त्यसमाथी म दुखी छु ।”

