काठमाडौं। अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ । युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भएको हो ।
कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् । ६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए । कप्तान गुल्सन झालाई सिनियर टिमबाट रिलिज गर्न प्रशिक्षक मोन्टी देसाईँले नमानेपछि उनको स्थानमा आकाशले अवसर पाएका थिए । नेपालका तिव्र गतिका बलर हेमन्त धामी र स्पिनर दिपेश कंडेलले समान २-२ विकेट लिए ।
कुवेतका लागि ओपनर जुड क्रिस्टोफर सल्धनाले सर्वाधिक २६ रन बनाए। उनले २४ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर किशोरभाइ हिन्सुलु १६ बलमा १६ रन बनाए । कुवेतका लागि पहिलो विकेटका ३४ रनको साझेदारी नै सबैभन्दा बढीको साझेदारी रह्यो । मोहम्मद रसिकले १९ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो।
नेपालका लागि विस्फोटक ब्याटिङ गरेका देव खनाल १२५ रनमा आउट भए । ११७ बलको सामना गरेका उनले ९ चौका र ३ छक्का हानेका थिए ।यस्तै अर्जुन कुमाल १०८ रनमा आउट भए। ११२ बल खेलेका उनले १२ चौका हानेका थिए ।अर्जुनको करिअरको यो पहिलो शतक हो। उनले गत वर्ष यू-१९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गरेका थिए ।गण्डकी प्रदेशबाट खेल्ने उनले घरेलु क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।विशाल विक्रम केसी २३ तथा दीपक बोहरा १९ रनमा आउट भए । ओपनर दीपक बोहोराले १३ रन बनाए । आकाश त्रिपाठी र सुवास भण्डारी २ रन बनाउँदै आउट भएका थिए। दीपकप्रसाद डुम्रे २० र दिपेश कँडेल २ रनमा नटआउट रहे ।