काठमाडौँ। नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। एमाले सचिव योगेश भट्टराईले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।
एमाले सचिव योगेश भट्टराईले आफ्नो उम्मेदवारले जित्ने दावी गरे। इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्व सभामुख पनि हुन्। २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइवटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानुन मन्त्री बनेका थिए।
२०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबैभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।यस अघि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको साथ छ ।