धनगढी। लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी(डिसीए) भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। डिसिएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरेको हो ।
यसअघि डिसिएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो ।देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डिसिएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा देवदहले १३.३ ओभरमा सबै विकेट गुमाएर २३ रनमात्रै बनाउँन सक्यो । देवदहका सवोत्तम सुनारले ८ रन बनाउँनुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन। डिसिएका सौर्य श्रेष्ठले ७ विकेट लिए । उनले ६.१ ओभरमा १ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएर उत्कृष्ट बलिङ गरेका थिए ।
यस्तै निरज ऐरले २ विकेट लिए। उनले ७ ओभरमा २ ओभर मेडन राख्दै १२ रनमात्रै खर्चिएका थिए ।त्यसअघि डिसिएका निशान रेग्मीले ११३ रनको शतकीय पारी खेलेका थिए। उनले १०१ बलमा उक्त पारी खेलेका हुन् । त्यसबाहेक अजय कडालले ६३ रन जोडे।खेलको म्यान अफ द म्याच डिसिएका निशान रेग्मी भए । यस्तै ७ विकेट लिएका सौर्य श्रेष्ठले म्याच बल पाए ।पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीले भैरहवामा प्रतियोगिता आयोजना गरेको हो ।