धनगढी। मोहनापुल देखी धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा झिलिमिली भएको छ। धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ति प्रर्बधन आयोजनाको ४० प्रतिशत संयुक्त लागतमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पुरा भएको हो।
छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गरीएको हो। ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा स्मार्ट सडक बत्ती जडान गरिएपछि सडक झिलिमिली भएको हो। धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडानको काम पुरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।
‘विद्युत प्राधिकरणको लागत साझेदारीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बत्ती उद्घाटन गरेका थिए। उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो। सडकमा करीब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको मेयर हमालले बताए।
धनगढी चौराहदेखि मोहनपुरसम्म आधुनिक सडक बत्ती जडानको काम पूरा भएको छ। बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो। २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको हो। स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ।यो बत्ती बलेवाफत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्ने जनाइएको छ । स्मार्ट सडक बत्ती जडानले छ लेन सडकमा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नुका साथै शान्ति, सुरक्षामा पनि सहयोग पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भनाइ छ। छ लेन सडक बनेपछि यो सडकमा कैयौं व्यक्तिले दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।उनले स्मार्ट सडक बत्ती जडानले राति छ लेन सडकको सौन्दर्य पनि बढ्ने बताएका छन।