धनगढी। भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले जित हात पारेको छ। शनिबार भएको खेलमा डिसिएले बुटबलको न्यू होराइजन एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजनले १९.१ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउँन सकेको थियो।
उसका अमर मिश्रले १३ र विशाल भुसालले ११ बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन। डिसिएका सुर्या श्रेष्ठ र दिनेशराज जोशीले समान ३–३ विकेट लिए। सुर्याले ५ ओभरमा २ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएका थिए ।जवाफमा डिसिएले १२. ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। उसका आशिष लुहारले १५ रन जोडे। न्यू होराइजनका सुमित पराजुलीले २ विकेट लिए। खेलको म्यान अफ द म्याच डिसिएका सुर्या श्रेष्ठ घोषित भए। पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले उनलाई पुरस्कृत गरेका थिए।