धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा शुसासन कायम गराउन कटिवद्ध भएर लाग्न जनप्रतिनिधिलाई सुझाब दिएका छन् । जिल्ला समन्वय समिति कैलालीको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्यको सहभागितामा भएको जिल्ला सभाको समुद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको बिकासका लागी पहिला शुसासन कायम गराउनुपर्ने बताए । विधि र पद्धतिमा अघि नबढेसम्म प्रदेशको विकास सम्भव हुँदैन, उनले भने, योजनामा कमिसन लिने, आर्थिक चलखेलमा लाग्ने, शुसासन कायम नगर्ने जस्ता गतिविधिको अन्त्य गर्नुपर्छ । प्रदेशमा शुसासन कायम गराउन कटिवद्ध भएर लाग्न स्थानिय जनप्रतिनिधिसंग अनुरोध गरे ।
यस्तै उनले सिस्टम अनुसार पनी अघि बढ्नुपर्ने बताए । ‘एउटा सिस्टम,एउटा प्रकृयामा जबसम्म हामी अगाडी बढ्न सक्दैनौ ,तबसम्म यो मुलुकको विकास हुन सक्दैन,’उनले भने,‘हामीले सोचेको जस्तो नेपाल बनाउन सक्दैनौ,त्यस कारण हामीले धेरै कुराहरूमा समीक्षा गर्नु छ ।’कुनै पनि जनप्रतिनिधिहरूले गलत कार्य गरे प्रदेश सरकारले तत्काल कारबाही गर्नैपर्ने उनको भनाई छ । प्रदेश सरकारलाई भष्ट्रचारमुक्त प्रदेश बनाउन लागेको भन्दै उनले सबै पालिकाका जनप्रतिनिधि र प्रदेश सभा सदस्यहरुलाई इमानदारीका साथ जनताको सेवामा लाग्न समेत अनुरोध गरेका छन्।
यस्तै मुख्यमन्त्री शाहले प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने समेत बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै भने तपाईहरूकै कृपा र आर्शिवादले म मुख्यमन्त्रीमा नियुक्त भएको छु उनले भने, स्थिर सरकार बनाउन पनि सहयोग पाउने आशा छ । प्रदेशकी उपसभामुख कोईलीदेवी चौधरीले प्रदेश सरकार बन्न नसक्दा जनताका समस्या समाधान गर्न नसकिएको र प्रदेशको विकासका गतिविधि अघि बढ्न नसकेको बताईन ।जिसस अधिकारी धर्मराज विनाडीको अध्यक्षतामा भएको सभामा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बम,नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमा विष्ट लगायतले सम्बोधन गरेका थिए । सभामा जिल्लाभित्र रहेका स्थानिय तहका समस्या, सीमा विवाद, योजनामा समन्वय अभाव लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।