धनगढी। कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयप्रति यहाँका नागरिकले स्वागत गरेका छन् । आइतबार सरकारले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयपछि सुदुरपश्चिम बासीले सो निर्णय स्वागत योग्य भएको बताएका छन्। धनगढीका योगेश बमले सरकाले नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय स्वागत गर्छु भनेका छन्। यस्तै अछामका एकेन्द्र कुँवर, धनगढीका क्रिष पाण्डेय, जगदिश प्रसाद पन्तले पनी सरकारको सो निर्णयको स्वागत गरेको बताएका छन्। प्रारूपको टुङ्गो लागेपछि चाँडै सञ्चालनमा आउने भन्दै उनीहरूले आशा राखेका हुन्।
यस्तै कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले गेटामा विश्वविद्यालय बनाउने सरकारी निर्णय राम्रो रहेको बताए। निर्माण लगभग अन्तिम चरणमा रहेपनि प्रारूपको टुङ्गो नलाग्दा सञ्चालनको अन्योल देखिएको छ तर सरकारको निर्णयले आश पलाएको यस प्रदेशवासीको भनाई छ। तर निर्णय मात्रै गरेर नहुने भएकाले यथाशीघ्र सञ्चालन हुनुपर्ने उनीहरुको सुझाब रहको छ। सरकारले गरेका कतिपय निर्णय लागू नहुने गर्दा काम नहुँदासम्म धेरै खुसी हुने अवस्था पनी नरहेको उनीहरुको भनाई छ। सुदूरपश्चिमवासीको निरन्तर दबाब र खबरदारीपश्चात् सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टको भनाई छ।
मेडिकल विश्वविद्यालय जति छिटो र प्रभावकारी बन्यो त्यति नै जनताले स्वास्थ्य सेवा पाउने र सरकारलेको निर्णयलाई भन्दै अहिले नै बिश्वास गरीहाल्नु पर्ने अवस्था नभएको बताए। प्राध्यापक भट्टले सरकार आफैँले गरेका लिखित वा मौखिक प्रतिबद्धताहरू उल्लङ्घन गर्दै आइरहेको छ। डाक्टर गोविन्द केसीको अनसन तोडाउन कैयौँ पटक प्रतिबद्धता गरिए तर कार्यान्वयन नभएको उनले भनेका छन्। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयजस्ता संस्थाहरूमा ‘मेरिटोक्रेसी, प्राग्माटिज्म अनेस्टी’ (एमपीएच)का सैद्धान्तिक आधारमा यथाशीघ्र काम थाल्नुपर्ने उनले बताएका छन्।
नेपाल सरकारको लगानीमा २०७४ सालबाट गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण सुरु भएको थियो। हालसम्म साढे पाँच अर्ब रुपियाँ लागतमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए। २०८० को चैतसम्म सम्पूर्ण भौतिक पूर्वाधारको काम पूरा हुने कार्यकारी निर्देशक पुजाराले बताएका छन्। तत्कालीन गेटा मेडिकल कलेजको निर्माण थालनी हुँदा शैक्षिक सत्र २०७६र०७७ बाट पठनपाठन सुरू गर्ने लक्ष्य थियो। हरेक वर्ष १०० जना स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज ६ सय शय्याको हुने बताइएको थियो।अहिलेसम्म ९० प्रतिशत निर्माण पूरा भएको पुजाराको भनाइ छ। अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माण भने गत वर्ष नै पूरा भएको थियो। विद्युत्, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्ने संरचना निर्माण भइरहेको छ।