दार्चुला। दार्चुलास्थीत लिपुलेक सडकमा भारतले विस्फोट गराउँदा नेपालतर्फका घरमा क्षति भएको छ । भारतले तवाघाट–लिपुलेक सडक खण्डमा विस्फोट गराउँदा ढुंगा उछिट्टिएर व्यास गाउँपालिका–२ का हिक्मत महराको घरमा क्षति भएको छ।
भारतले गत कात्तिक दोस्रो साता उक्त सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर हिक्मतका नौ वर्षीय छोरा पवन महराको मृत्यु भएको थियो । त्यसको तीन महिनापछि माघ १५ मा गरिएको विस्फोटले उनको घरसमेत क्षति गरेको हो । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेर भारतीय सडकमा विस्फोट गराउँदा दुम्लिङ नजिकको अरतौलीमा रहेको महराको घर क्षतिग्रस्त भएकाले क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
भारतीय सडक निर्माणका क्रममा विस्फोटले घर क्षतिग्रस्त भई बस्नै नसकिने अवस्थामा पुगेको भन्दै पवनकी आमा पुनिदेवी महराले क्षतिपूर्तिको माग गरेकी छन् । माघ १६ गते अस्थायी प्रहरी पोस्ट दुम्लिङबाट प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी मुचुल्का तयार पारेको पीडितले बताएका छन् । भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर सीमा क्षेत्रमा विगतदेखि नै व्यापक क्षति पुर्याउँदै आएको स्थानीय बताउँछन् ।
प्रहरी मुचुल्कासहित गाउँपालिकामा आवश्यक सहयोग र समन्वयका लागि निवेदन दिएपछि गाउँपालिकाले जिल्ला प्रशासनलाई पत्राचार गरेको अध्यक्ष धामीले बताए । महाकालीपारि भारतीय सडक निर्माणमा जिलेटिन पड्काउँदा नेपालतर्फ महराको घरमा क्षति पुगेको मुचुल्कामा उल्लेख छ । व्यास–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीसहित स्थानीयको रोहवरमा प्रहरीले मुचुल्का बनाएको थियो । अध्यक्ष धामीका अनुसार प्रहरीको मुचुल्कामा महराको घरको भित्ता र छानो क्षतिग्रस्त भएर बस्नै नसकिने अवस्था रहेको उल्लेख छ । त्यस्तै नेपाली सेनाद्वारा निर्माणाधीन टिंकर सडक खण्डमा कामदार बस्न राखिएका टेन्टमा पनि ढुंगाले क्षति गरेको जनाएको छ ।