धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिँह रावललाई नागरिक उन्मुक्ती पार्टिले बिश्वासको मत नदिने बताएपछि उनको सरकार ढल्ने अवस्थामा पुगेको छ । मुख्यमन्त्री रावलले बिश्वासको मत लिनकालागी आज दिउँसो एक बजे बोलाइएको प्रदेश सभाको बैठक भोली दिउँसो १ बजेसम्मका लागी स्थगित गरिएको छ।
पटक-पटक शिर्ष नेताको छलफलपछी पनी नागरिक उन्मुक्तीले बिश्वासको मत नदिने बताएपछि विश्वासको मतका लागि अन्तिम कसरतमा सत्तारुढ नेकपा एमाले जुटेको हो।भोली दिउँसो १ बजे मुख्यमन्त्री रावलले बिश्वास मत लिनै पर्ने बाध्यता छ । त्यसपछि उनी मुख्यमन्त्री रहने वा नरहने त्यसपछि मात्रै थाहा हुनेछ । त्यस कारण सत्ता साझेदारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासको मतका लागि फकाउने अन्तिम कसरतमा नेकपा एमाले लागेको छ । प्रदेशसभा बैठक स्थगन गरेर सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेकपा एमाले नागरिक उन्मुक्तिसँग छलफलमा जुटेको छ।
यस अघि नागरिक उन्मुक्ति पार्टीका साँसदले बैठकमा सहभागी नहुने बताएका थिए। नागरिक उन्मुक्ति पार्टीका ७ सांसद बुधबार राजधानी काठमाडौँ गएका थिए। डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले विश्वासको मत नदिन निर्देशन दिएपछि उसले विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले टीकापुर घटनाका आरोपी रेशम चौधरी रिहाइका लागि सत्तारुढ गठबन्धनलाई तीव्र दबाब दिइरहेको बताइएको छ। नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र र राप्रपासहितको समर्थनमा एमाले संसदीय दलका नेता रावल पुस २७ मा मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। माघ २७ भित्र मुख्यमन्त्री रावलले विश्वासको मत लिइसक्नुपर्ने छ।
बिश्वासको मत नपाए सत्तारुढ एमाले नेतृत्वको सरकार ढल्नेछ। सत्ता साझेदार नागरिक उन्मुक्तिले पहिला माग पूरा भएर रेशम चौधरी रिहा भएमा मात्रै विश्वासको मत दिने बताएको छ। नभए विश्वासको मत नदिने निर्णय गरिसकेको प्रबत्ता दामोदर पण्डीतले बताए। नागरिक उन्मुक्तिका अधिकांश सांसद विश्वासको मत दिएर सरकारमा जानुपर्ने र सँगै माग सम्बोधनका लागि दबाब दिनुपर्ने पक्षमा छन्। तर बुधबार डिल्लीबजार कारागारबाट रेशमले विश्वासको मत नदिने निर्देशन दिएको स्रोतले दाबी गरेको छ । अहिलेको गठबन्धनबाट बाहिरिएर पनि हाम्रो माग सम्बोधन हुन सक्ने अवस्थामा नभएकाले माग सम्बोधन गर्न सक्ने सामर्थ्य भएकाले अन्तिमसम्म विश्वासको मत दिनसक्ने अवस्था पनि आउन सक्ने एक नेताले बताए । उनले छलफलमा रहेकाले ठोस निष्कर्षमा नपुगेको बताए । यता
मुख्यमन्त्री राजेन्द्र रावल बुधबारको बैठकमा विश्वासको मत नपाउने देखेपछि बिहीबारसम्म बैठक धकेलेर नागरिक उन्मुक्तिलाई मनाउने प्रयासमा रहेको स्रोतले बताएको छ। नेकपा एमालेका सांसद धर्मराज पाठकले उन्मुक्तिले उठाइरहेको रेशम चौधरीजीको रिहाइको मुद्दा अदालतमा विचाराधीन रहेको र अदालतले प्रक्रिया अगाडि बढाएकोले सत्ता गठबन्धनका पक्षमा मतदान गर्ने बताए । उनले हामी प्रयासमा पनी रहेको बताए । यता मुख्य मन्त्रीले दुई जना बिना बिभागिय मन्त्री तोकीसकेको अवस्थामा मन्त्रालय तोकेका छैनन्। नागरिक उन्मुक्तिले प्रदेश प्रमुख, दुई संसदीय समिति सभापति र तीन मन्त्रालयमा दाबी गरेको छ। सत्तारुढ गठबन्धन उन्मुक्तिलाई प्रदेश प्रमुख, दुई संसदीय समिति र दुई मन्त्रालय दिन तयार छ। तर ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा परेर संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् गठन हुने बताइएको छ। जसअनुसार राजनीतिक समीकरण यथावस्थामा रहे कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने निश्चित छ। यहाँ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। नेकपा माओवादी केन्द्र ११ (सभामुख), नेकपा एमाले १० (उपसभामुख), नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।