काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको शिक्षामन्त्री शिशिर खनालले जानकारी दिए। नेताहरुका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ।
सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए।रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए। तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भए। नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार सम्वाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।

