काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए।
प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए।उजुरीकर्तालाई के मर्का पर्यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए।
उनले अघि भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको हाइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’ “अदालतको फैसलाले कसलाई फाइदा भयो ? निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ?,” उनले भने, “निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?”उनले अदालतको फैसलाले कसलाई न्याय भयो भन्दै आपत्ति जनाएका छन्।
“फैसलाले न्याय भयो कि भएन ? लामिछानेलाई न्याय भएन भने कसले पायो न्याय ? फैसलामा कसले पायो न्याय ? यसको जानकारी चाहिँदैन ?,” ओलीले भने, “संस्था, व्यक्ति कि समुदाय ? बुझिनसक्नुखालको भयो । रवि लामिछानेसँग मेरो कुनै सम्बन्ध छैन । नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको पनि होइन । तर एउटा नागरिकको हैसियतले शुक्रबार बेलुकी देखि आइतबार बिहानसम्म नागरिकता के हो ? नागरिकता के भयो ? मैले राम्रो बुझेको छैन । आइतबार बेलुका फेरि पुरानै मितिको पुरानै नागरिकता जारी छ।” उनले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने बताए।
“कार्यालय खुल्दा नागरिकता प्राप्त भइसकेको छ । यो बिदाका दिनमा प्रक्रियागत त्रुटिका कारणले यस्तो गर्न मिल्छ ?,” ओलीले भने, “किन यस्तो फैसला ? अर्को कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा मतदानको अधिकार भन्दैछौँ । उमेदवार हुने अधिकार पनि त होला नि ? हामी पासपोर्ट, भिसा, नागरिकता, पीआर के के को छानबिन गर्छौँ ? त्यो बीचमा ? आयोगले उमेदवार हुन योग्य छ भनेको होइन ? यो समस्याको समाधान भोलि कसरी गर्छौँ ? मताधिकार विदेशी नागरिकले प्राप्त गर्न पाउँछ कि पाउँदैन ? गैर आवासीय नेपालीमा के असर पर्छ ? उनीहरुको सम्पत्तिमा के असर पर्छ ? अनेक प्रश्न होलान् ? यसले दुरगामी असर के राख्छ ?”