काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिएको दुई दिने ‘अल्टिमेटम’ आज सकिँदैछ। रास्वपाले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको दुई दिने ‘अल्टिमेटम’ आज सकिन लागेको हो।
तर यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अडान कायमै छ। बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने र त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन माग गरेको थियो ।
आजसम्म गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने रास्वपाको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको मुद्दा टुङ्गो नलागेसम्म धैर्यता गर्नुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछाने असन्तुष्ट छन् ।
पूर्व सहमतिअनुसार गृह मन्त्रालय रास्वपाकै भागमा परेको भन्दै ओलीले प्रचण्डलाई दबाब दिँदै आएका छन् । सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । सर्वोच्चको आदेशपछि नागरिकता लिएका लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने दबाब दिँदै आएका छन् । यही विषयमा सत्तारुढ दलभित्र विवाद बढ्दै गएको छ ।
सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको उपप्रधानसहित गृहमन्त्री र सांसदबाट पदमुक्त गरेको थियो । लामिछानेले १५ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।