धनगढी। कैलालीमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका–४ बाट एक थान भरुवा बन्दुकसहित ४८ वर्षीय जब्बर रोक्का मगरलाई पक्राउ गरेको हो।ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो। यस्तै कैलालीको गोदावरी नगरपालिका–६ मा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका लालपुरका ६१ वर्षीय यज्ञराज साउँदले प्लाष्टिकको कट्टाभित्र लुकाई राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ।
साउँद गोदावरी नगरपालिका–४ बसन्तपुर जाँदै गरेको अवस्थामा बसन्तपुर सामुदायिक वनबाट अवैध भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी हवलदार अर्जुन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित साउँदलाई पक्राउ गरेको कैलाली प्रहरीले बताएको छ। पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।