धनगढी। स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो। स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाए। २३ बलमा उनले ७ चौका प्रहार गरे। यस्तै अभिशेक खड्काले २६ बलमा २३ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। त्यसबाहेक समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडे। बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २–२ विकेट लिए। जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउँन सक्यो।
उसका आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडे। स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिए। प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद पायो भने उपविजेता लिटिल फ्लवारले ३० हजार पायो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी चुनिए। उनले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाए।यस्तै उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह चुनिए। उनले ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए ।उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए। उनले पनि ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए। उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाए। उनले क्रिकेट शुज पाए।