कैलाली। कैलालीको गौरीगंगामा निर्माणाधिन २ वटा पक्की पुल अलपत्र अवस्थामा परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेका हुन्।
ठेकेदारले ठेक्का सारे पनि समयमै निर्माणको काम नगर्दा पुल निर्माण कार्य अधूरै रहेको स्थानियले बताएका छन्। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेपछि वाई पी कन्स्ट्रक्सनले ठेक्का सकारेको थियो। कम्पनीले २०७९ असार ३१ सम्म काम सक्नुपर्ने थियो। तर, म्याद सकिएको ७ महिना बितिसक्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि स्थानीय आक्रोशित बनेका छन्। स्थानियले बर्खा याममा नदी पार गर्दै हिँड्नुपर्ने बाध्यता हट्ने आशा राखेपनी काम अधुरै छोडेर निर्माण कम्पनी भागेको आरोप लगाएका छन्।
निर्माण कम्पनीले पुलको एउटा बिचको पिल्लर मात्रै बनाएर त्यो पनि अधूरै छाडेपछि उनीहरु चिन्तीत बनेका छन्। आफूहरू समयमै पुल बनाइदिन भन्दै पटक पटक पूर्वाधार विकास मन्त्रालयमा धाउँदा पनि ठेकेदार सम्पर्कमै नआएको र पछि मन्त्रालयले ध्यानै नदिएको उनीहरुको गुनासो छ। स्थानिय जगत जैगडीले गत असार ३१ गते भित्रै पुल निर्माण भइसक्नु पर्ने भए पनि अहिलेसम्म पिल्लरै नठडिएका कारण पनि स्थानीय आक्रोशित बनेको बताए। ५ करोड २८ लाख रुपैयाँमा अण्डैयास्थित पुल निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले १ करोड ४५ लाख रुपैयाँ निकासा गरिसकेको छ। निकासा गरेको रकम अनुसार काम नभएको बताइएको छ।
आफूहरूले निर्माण कम्पनीका ठेकेदारलाई पटक पटक मौखिक र लिखित पत्राचार गरेर काम समयमै सक्न र सुचारु गर्न दबाब दिए पनि उनी सम्पर्कमै नआउने गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए। उनले ठेकेदार कम्पनीलाई फोन गर्दा पनि फोनै नउठाउने र फोन उठाए पनि सुने नसुने जस्तो गरिदिने उनले बताए । यस्तै ७ करोड २७ लाख रुपैयाँको लागतमा चौमालास्थित पुल निर्माण गर्न निर्माण कम्पनीले ठेक्का लिएको थियो। सो पुलको निर्माण कार्य पनि अलपत्र परेको भन्दै स्थानीयले गुनासो पोख्न थालेका छन्। पत्रकारसँगको टेलिफोन कुराकानीमा निर्माण कम्पनीका ठेकेदार देवजंग शाहीले अण्डैयाको पुल निर्माण कार्य ४० प्रतिशत भएको बताए। उनले केही प्राविधिक कारणले हामीले समयमै गर्न सकेको र अहिले काम भइरहेको बताए। चौमालाको पुल निर्माणका लागि भने डिजाइनमै त्रुटि भएका कारण रोकिएको उनले बताए। चौमालाको पुल डिजाइनमै त्रुटि रहेकाले त्यहाँको पुल भने निर्माण हुन नसकेको र कोरोनाका कारणलेपनि समयमै काम गर्न समस्या भएको बताएका छन् । अब एक हप्ताभित्र रोकिएको काम सुचारु गर्ने उनले दावी गरे।नागरिक न्युजबाट