कैलाली। प्रतिनिधिसभा सदस्य तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी फरार सूचीमा रहेको खुलेको छ। संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई ६ महिना कैद फैसला सुनाएको थियो।
अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी अहिले प्रतिनिधि सभा सदस्य छन्। प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए।
त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए। सोही घटनामा प्रहरीले शुक्रवार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै दिएको निवेदनमा अस्विकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।
एउटै मुद्दामा एक व्यक्तिले कैद भुक्तान गर्दा अर्का व्यक्ति भने प्रतिनिधि सभा सदस्य निर्वाचित भएर संसदमा गइरहेका छन्। २०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी विजयी भएको पार्टीले अहिले पनि टीकापुर घटनाका राजबन्दीको रिहाइको मुद्दालाई नै प्रमुख एजेण्डा बनाएको छ। संसदमा पनि पार्टीले रेशमसहितका बन्दीलाई रिहा गर्नुपर्ने माग सार्दै आएको छ। भने सांसद अरुणकुमार चौधरी १० वर्षदेखि फरारको सूचीमा रहेको खुलेपछि उनको पद के हुन्छ भन्ने बारेमा चाँसो र चर्चा हुन थालेको छ। यो खबर नेपाल प्रेसमा छ। अदालतको फैसला