कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी नाकामा नेपालीमाथी भारतिय एसएसबीले कडाई गर्न थालेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिमी सीमा नाका गड्डाचौकीमा ‘माथिल्लो आदेश’ भन्दै भारत प्रवेशमा कडाइ, नेपालीलाई सास्ती दिँदै आएको स्थानियले बताएका छन्। भारतीय एसएसबीले कञ्चनपुरस्थित गड्डाचौकी नाका भएर भारत प्रवेशमा कडाइ गरेको हो।
नेपाल–भारत ओहोरदोहोर गर्ने नेपाली नागरिकले पछिल्लो केही दिन यता भारतीय एसएसबीले गड्डाचौकी नाकामा अनावश्यक अनावश्यक खानतलासी गर्ने, बिना कारण नाकामा नेपालीलाई रोकेर दुख, सास्ती दिने गरेको स्थानियले गुनासो गरेका छन्। यस्तै पैदल यात्रु र सवारीसाधनलाई बिना कारण रोकेर लामो समय लाईन बस्नु परेको र अनाबश्यक केरकार गरिरहने गर्दा हैरान गर्ने गरेको यात्रूहरु बताउँछन् । तर यति हुँदासम्म पनि नेपाली प्रशासन मुकदर्शक बनेर बसेको आरोप स्थानियहरुले गरेका छन्। नेपालीमाथी नाकामा भारतीय एसएसबीले विगत भन्दा भिन्न व्यवहारमा देखाइरहेको र भारत प्रवेश गर्दा परिचय खुल्ने प्रमाण पत्र भएपछि मात्रै भारत प्रवेश गर्न दिइरहेको स्थानियले बताएका छन्।
कागजपत्र नहुनेलाई नाकाबाट एसएसबीले घर फिर्ता पठाइरहेको स्थानिय नेत्रराज भट्टले बताएका छन्। उनले बिगतमा हामी प्रमाण पत्र नभए पनि भारततर्फ जाने गरेको भएपनी देशमा नयाँ सरकार गठनपछि भारतिय एसएसबीले कडाइ गरेको बताए।यसरी अनाबश्यक दुःख दिनुभन्दा नाका सील गर्नुप–यो या नभएर आवागमन सहज बनाउनुपर्ने उनको भनाई छ ।बिभिन्न घरायसी सामान किनमेल तथा उपचारका लागि भारततर्फ गइरहेका नेपालीलाई नाकामा रोकेर एसएसबीले मोटरसाईकलको हेल्मेट हालेर जानुपर्ने भन्दा पनी निकालेर जाउ भन्ने, कागजपत्र अनिवार्य नभएकालाई फर्काउने, गर्छन् तर नेपालभित्रिने भारतीयले कागजपत्र केही देखाउनु नपर्ने गर्दा यो नियम उपयुक्त नभएको उनले भने।
गड्डाचौकी नाकामा तैनाथ एक सुरक्षाकर्मीले भारत प्रवेशका लागि एसएसबीले परिचय खुल्ने प्रमाण पत्र अनिवार्य गरेको बताएका छन्। नाम नभन्ने सर्तमा उनले भने, एसएसबीले अचेल कागजपत्र खोजी गरिरहेको र अगाडि त्यस्तो नभएको उनले भने । हामी नेपाल प्रवेश गर्दा गाडीहरु इन्ट्री गरेर आउन दिने गरेको बताए । यता कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भारतमा जनवरी २६ मा गणतन्त्र दिवस भएकाले त्यसकै सुरक्षाका लागि भारतीय पक्षले नाकामा कडाइ गरेको हुनसक्ने बताए। यसअवधिमा बिगतका वर्षमा पनि नाकामा कडाइ हुने गरेको उनको भनाई छ। उनले अन्तराष्ट्रिय नाका भएकाले जनवरी २६ लाई मध्यनजर गरेर र आतंकवादी घटना हुनसक्ने भएकाले भारतले कडाइ गरेको हुनसक्ने उनले भने। यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यस बारेमा भारतीय पक्षले सिमानाकामा कडाई गर्ने बारेमा आफूहरुलाई कुनै जानकारी नआएको उनले जानकारी दिएका छन्।