योगेन्द्र नायक, धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिहं रावलले माघ ११ गते प्रदेशसभाबाट बिश्वासको मत लिने तयारी गरेका छन् । एमाले पोलिट्ब्युरो सदस्य समेत रहेका नेता रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । ४ पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका रावललाई संसदबाट बिश्वासको मत लिन चुनौती देखिएको छ । सभामुख निर्वाचनमै दुई पटक मत नहालेको उन्मुक्तीले फेरी रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दी रिहाइको माग अघी सारेपछि रावललाई बिश्वासको मत लिन चुनौती देखिएको छ ।
गत पुस २८ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र सिहं रावल नियुक्त भएका थिए । टिकापुर घटनाका दोशी ठहर गर्दै कारागारमा सजाय भोगिरहेका रेशम चोधरी सहितको रिहाइलाई मुख्य एजेण्डा बनाउँदै संघ सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्तीले सुदूरपश्चिममापनि त्यही एजेण्डा अघी सारेको थियो । प्रधानमन्त्री पुस्पकमल दाहालले थारु समुदायलाई माघी उपहार दिनेगरी माघी अघीनै रेशम सहित बन्दीहरुलाई रिहाई गर्ने प्रतिबद्धता गरे अनुसार पार्टीका सांसदहरु माघीसम्म कुरिरहेका थिए । तर उनिहरुको माग पुरा नभएपछि प्रदेशको सभामुखमा उन्मुक्तीका सांसदहरुले मत हालेनन् । संघमा भएको सहमती अनुसार चाँडै माग पुरा गर्ने आश्वासन पाएपछि मात्रै तेश्रो पटकको मतदानबाट उनिहरुले माओवादी केन्द्रका भिम भण्डारीलाई मत हाले । सभामुख र उप सभामुखमा मत हालेको नागरिक उन्मुक्तीले माग पुरा नभए मुख्यमन्त्रीलाई बिश्वासको मत नदिने अडान अघी सारेको छ ।
नागरिक उन्मुक्ती पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदिय दलका नेता रामेश्वर चोधरीले प्रधानमन्त्रीलेनै थारुहरुको महान पर्व माघीको अवशरमा उपहार दिनेगरी रेशम सहित राजबन्दी रिहाइको प्रकृया थाल्ने बताएपनि त्यो माग पुरा नभएकै कारण सभामुखलाई मतदान नगरेको बताए । पहिलो दिन हाम्रो केही प्रदेशसभा सदस्यहरुले मत हाल्नुभयो र पुगेन उनले भने “दोश्रो पटक हामी तठस्थ बसेका थियौँ त्यसपछि केन्द्रिय तहमा नेताहरुबिच सहमती भएपछि हामीले सभामुख र उप सभामुखमा सत्ता गठबन्धनलाई सघाएका हौँ ।” हामीलाई केन्द्रिय तहबाट सभामुख र उप सभामुखमा मात्रै मत हाल्नु भन्ने निर्देशन छ, उनले भने “सायद मुख्यमन्त्रीले बिश्वासको मत लिनुअघी हाम्रा माग पुरा हुन्छनकी भन्ने छ त्यो भए हामी बिश्वासको मत दिन्छौँ, माग पुरा नभए मुख्यमन्त्रीलाई बिश्वासको मत दिन्नौँ ।”
सत्तारुढ दलहरुपनि नागरिक उन्मुक्ती पार्टीले अघी सारेका माग सम्बोधन गराउने तर्फ केन्द्रित भएका छन् । पार्टीका शिर्ष नेताहरुसंग छलफल गर्दै संघ सरकार मार्फत ति मुद्धा सक्दो चाँडो सम्बोधन गराउने तर्फ प्रदेशका नेताहरुपनि केन्द्रित छन् । मुख्यमन्त्रीले बिश्वासको मत लिनुअघीनै मुद्धा सम्बोधनको प्रकृयामा लैजानुपर्नेमा उनिहरको जोड छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कल रावलले केन्द्रमै सहमती भए पश्चात नागरिक उन्मुक्तीले सभामुख र उप सभामुखमा मतदान गरेको बताए । हाम्रो प्रदेश सरकारले गर्ने कुरा खाशै केही छैन, केन्द्रिय नेतृत्वलाई माग राख्ने कुरा हो उनले भने “केन्द्रकै सहमतीले उहाँका माग मुद्धा सम्बोधन हुनेछन् र मुख्यमन्त्रीले बिश्वासको मत त पाइहाल्नुहुन्छ ।”
मुख्यमन्त्रीलाई बिश्वासको मत माग्न र नागरिक उन्मुक्तीलाइपनि सरकारमा सहभागी गराउनका लागी छलफल गर्न मुख्यमन्त्री रावल, मन्त्री खगराज भट्ट लगायतको टिम काठमाण्डौँ पुगेको छ । उनिहरुले नागरिक उन्मुक्तीका संरक्षक रेशम चोधरीलाई डिल्ली बजार कारागारमै भेटेर सरकारको भागबण्डाको बिषयमा समेत छलफल गर्ने जनाइएको छ । यस संगै पार्टी सिर्ष नेताहरुसंगको सल्लाहपछि मात्रै सुदूरपश्चिमको मन्त्रीपरिषदलाई पुर्णता दिने तयारीमा नेताहरु छन् ।