धनगढी। सुदुरपश्चिम प्रदेशको सभामुखको निर्वाचन आज साँझ ६ बजे हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन्।
बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। निर्वाचनमा सत्तापक्षका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र प्रतिपक्षका मानबहादुर रावलले २३ मत पाएका थिए । निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो । यस्तै गरेर सत्तापक्षकै नेकपा एमालेका चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ती पार्टीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी भएनन् । यस्तै सभामुखको भूमिकामा रहेकोले प्रतिपक्षका शिवराज भट्ले मतदान गर्न पाएनन् ।सभामुख नछानिएपछि अव कसरी जाने भन्ने अन्योलता सृजना भएको थियो । प्रदेश सभा सचिवालयले सो अन्योलता कसरी हटाउने भन्ने राय सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयसंग मागेको थियो ।
न्यायधिवक्ताको कार्यालयले पुस २८ गते् अहिलेकै प्रक्रियालाई नियमित गरेर सभामुख छान्न राय दिएपछि आज फेरि सभामुखको चुनाव हुने् भएको हो ।प्रदेश सभाका ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गरिएको बताए। विहीवार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो। शुक्रबार दिनभर बैठक बस्न सकेन। अनिश्चित समयसम्म स्थगित गरिएको बैठकबारे छलफल गर्न आज सर्वदलीय बैठक सुरु भएको हो। प्रदेश सभामा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित रहेका थिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।