दार्चुला। जिल्लाका विभिन्न स्थानमा ४० क्षयरोगका बिरामी पाइएका छन् । अपी हिमाल गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा क्षयरोगीका बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नौ स्थानीय तहमध्ये अपी हिमालबाहेक सबै पालिकामा क्षयरोगका संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।
उनका अनुसार सदरमुकामको महाकाली नगरपालिकामा १६ जना, नौगाड र मालिकार्जुन गाउँपालिकामा समान ५/५ जना क्षयरोगका बिरामी छन् । शैल्यशिखर नगरपालिका, ब्यास र मार्मा गाउँपालिकामा समान ३/३ जना, दुहु गाउँपालिकामा ४ र लेकम गाउँपालिकामा एक जना क्षयरोगका बिरामी छन् । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा १५ देखि ८० वर्षसम्ममा क्षयरोग देखापरेको छ। क्षयरोगीहरू अहिले औषधि सेवन गरिरहेको कार्यालयले जनाएको छ । दार्चुलामा क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिँदा रोगको रोकथाममा चुनौती थपिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाइ छ।
उनले गत वर्षसम्मको तथ्यांकअनुसार गत वर्ष मात्रै क्षयरोगका कारण ५ जनाको मृत्यु भएको जानकारी दिए। क्षयरोगका बिरामीले लामो अवधिसम्म उपचार केन्द्रमा पुगी दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ । तर यसलाई झन्झट मानेर धेरै बिरामीले नियमित औषधि सेवन नगर्दा क्षयरोग समाजमा फैलिरहेको उनको भनाइ छ। जिल्लाका धेरै मानिस मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने र उतैबाट क्षयरोगबाट संक्रमित हुने गरेको पाइएको छ । फर्किएपछि परिवार र छरछिमेकमा सर्ने गरेको पनि स्वास्थ्यकर्मीहरूको भनाइ छ। जिल्लाको प्रमुख स्वास्थ्य समस्याका रूपमा क्षयरोग देखिएको छ । विभिन्न सर्वेक्षणले झन्डै तीन सय २२ जनामा क्षयरोग हुन सक्ने स्वास्थ्य कार्यालयले आकलन गरेको छ । जनचेतना अभावका कारण समाजमा अपहेलित हुने डरले धेरैजसोले क्षयरोग लुकाउने गरेका छन् । यसले गाउँ समाजमा क्षयरोग भुसको आगोझैं फैलिने सम्भावना बढेको स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत भट्टले बताए ।