धनगढी : यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मजदूर नेताहरुले माग गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन बस इकाई कमिटि धनगढीको चौथो अधिवेशनमा बोल्ने मजदूर नेताहरुले यातायात क्षेत्रका समस्या सम्बोधन गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम अध्यक्ष जित बहादूर मल्लले यातायातका मजदुरहरुप्रती सरकारले गर्ने ब्यवहार परिवर्तन हुन जरुरी रहेको बताए । सवारी चालकका समस्या जिउका तिउ छन् मल्लले भने “सवारी चालककै हातमा सयौँको ज्यान हुन्छ, तर सवारी चालककै शुरक्षा छैन, न्युनतम मापदण्ड अनुसार चालकले तलव सुबिधा पाएका छैनन्, सामाजिक शुरक्षा छैन यसका बावजुतपनि हाम्रा सवारी चालकहरुले काम गरिराख्नुभएको छ ।”
अहिले ५ सय रुपयाँबाट एकैचोटी १५ सय जरिवाना पुगाइएको अवस्था छ उनले भने “ट्राफिक प्रहरीले सामान्य गल्तीमापनि १५ सय जरिवाना काटिदिन्छ, जरिवानाले मात्रै सबै कुरा हुँदैन, ट्राफिक र चालकहरुबिच नङ मासुको सम्बन्ध हुनुपर्छ, ट्राफिक प्रहरीले चालकहरुलाई प्रशिक्षणका कार्यक्रमहरु फेरी सञ्चालन गरे ज्ञान नभएका चालकहरुलाइपनि ज्ञान बढ्ने र गल्ती नदोहोरिने हुन्थ्यो ।” चालकहरुलाई गल्ती नगर्न र यातायात क्षेत्रलाई मर्यादित पेषा बनाउन उनले आग्रह गरे ।
कार्यक्रमका बिषिस्ट अतिथी रहेका सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का अध्यक्ष पदम सापकोटाले मजदूरका पक्षमा यातायात ब्यवसायी रहेको बताए । कोरोनाकालमा अरु सबैलाई अग्र पक्तींमा रहेको भन्दै शुरुमै खोप दिने सरकारले जोखिममा हिनेका सवारी चालकहरुलाई खोप लाउन समेत आनाकानी गरेको थियो उनले भने “गौरिफन्टा नाकाबाट त्रारतबाट आएका नेपालीहरुलाई गाडीमा राखेर गन्तब्य सम्म पुगाउने जिम्मा लिएका हाम्रा चालकहरुले बाटोमा पानी समेत नपाएर फर्किनुपरेको थियो, अनी खोपका लागी गुहार गर्दा सम्म हाम्रा मजदूरले समयमै खोप पाएनन् ।” मजदूर मात्रै होइन सरकारले सवारी दुर्घटना ऐन समेत पालना गरेको पाइदैन उनले भने “जानी जानी कोहीपनि दुर्घटना गर्दैन दुर्घटना भवितव्य घटना हुन्, घटनाबाट मृतक भए ५ लाख र घाइते भए ३ लाख सम्मको बिमा दिने ब्यवस्था छ, तर यहाँ ५० लाखको डिल हुन्छ हामी कहाँबाट ब्यहोर्ने, अनी त्यसमा सरकारले समेत हामीलाई सहज हुने गरी काम गरिदिन्न, अनी मजदूरको सरकार कहिले आउने म प्श्न गर्न चाहान्छु ।”

कार्यक्रममा बोल्दै नेपाल यातायात मजदूर संघ सुदूरपश्चिम अध्यक्ष केशव पन्तले यातायात क्षेत्रको बिसंगती हामी आफैले अन्त्य गर्नुपर्नेमा जोड दिए । हाम्रा क्षेत्रका बिसंगती हामीले हटाउने हो, सरकारबाट कमी भएका कुराको हामीले माग गर्ने हो उनले भने “हामीले बिगतबाट भनिरहने समस्या उस्तै छन्, सरकारले यि समस्या सम्बोधन गरेर यातायात क्षेत्रलाई मर्यादित बनाउनमा सहयोग गर्नुपर्छ ।” कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिमका अध्यक्ष ललित चन्दले मजदूरहरुका समस्याप्रती सरकार अँझै गम्भिर नभएको बताए ।
सय बर्ष पुराना सडकमा अहिलेपनि हाम्रा चालक साथीहरुले सवारी चलाउनु परेकोछ, १० गुणा बढी सवारी चाप बढेको छ अनी सरकार चालकलाई मात्रै दोशी देखाउँछ उनले भने “सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने की चालकलाई मात्रै गलत देखाउने, पहाडी क्षेत्रमा सडकको बेहाल छ, अनी त्यो सडक बनाउनु भन्दा दुर्घटनाको आरोप चालकको टाउकोमा थुपारेर पन्छिन खोज्छ यसरी समाधान हुँदैन सरकारले केही कानुन परिमार्जनपनि गर्न जरुरी छ ।”
हाम्रा चालक साथीहरुबाट दुर्घटना हुँदा हतगडी लगाएर मान्छे मारेर या बलात्कार गरेर आउका सरह जेल कोचिन्छ उनले भने “दुर्घटनापछि अनुसन्धानका लागी थुन्नु ठिक छ तर अपराधीझैँ हतगडी लाएर लैजानु गलत छ, हाम्रो पेषालाई सरकारलेपनि सम्मानित बनाउन जरुरी छ ।” नेपाल यातायात मजदूर संगठन बस इकाई कमिटि धनगढीका अध्यक्ष शंकर वलीको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी महासंघ सुदूरपश्चिम अध्यक्ष सोभा रावल, ट्राफिक प्हरी प्रतिनिधी लगायतले मन्तब्य राखेका थिए । अधिवेशनले नयाँ इकाई कमिटि चयन गर्ने छ ।


