धनगढी। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले प्रदेशलाई सुन्दर र सम्पन्न बनाउन राइजिङ सुदूरपश्चिम बनाउने बताएका छन्। सभाको जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुले सो प्रदेशको लागि संकल्प र प्रतिपद्धता जनाउनुपर्ने बताएका हुन्।
बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भटट्ले प्रदेशको समग्र विकासको लागि सबै प्रदेशसभाहरु एक ढिक्का भएर बढ्नुपर्ने बताए। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भटट्ले प्रदेशलाई राइजिङ प्रदेशको रुपमा विकास गर्न संकल्प लिनुपर्ने बताए । उनले भने, ‘राइजिङ सुदूरपश्चिम बनाउने अभिभारा हाम्रो हो । राष्ट्रकै गौरवशाली प्रदेश तथा एक नम्बरको प्रदेश बनाउने जिम्मेवारी हाम्रो हो । अबको पाँच वर्ष जनताको गाली सुन्न नपाउने गरी काम गर्नुपर्ने छ।
त्यसको लागि सदनले भूमिका खेल्नुपर्दछ।’ नेकपा एमालेका संसदीय दलको नेता राजेन्द्रसिंह रावलले पनि प्रदेशको विकासको लागि सबैले प्रतिवद्ध भएर लाग्नुपर्ने बताए। उनले भने, ‘पर्देशको विकासको लागि दीर्घकालीन योजना जानुपर्ने आवश्यक छ। विकासका प्राथमिकताहरु निर्धारण गर्न जरुरी छ। जनताका सहमतिमा आउनुस् हामी आज प्रण गरौं, हामी जनताको सेवक र नोकर बन्न तयार हौ। नयाँ सुदूरपश्चिम बनाउन सम्भव छ। विकासमा जनसहभागिता बढाऔं ।
’बैठकमा नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी, एकीकृत समाजवादीका संसदीय दलको नेता दीर्घबहादुर सोडारी, स्वतन्त्र प्रदेशसभा सदस्य डा।ताराप्रसाद जोशी लगायतले बैठकलाई सम्बोधन गरेका थिए । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।