काठमाडौँ। प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । उनले सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लागेकाले जतिबेला पनि प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताए। कांग्रेस सांसद राजेन्द्र केसीले पनि सरकारमा दाबी गर्नका लागि हस्ताक्षर संकलन भइरहेको जानकारी दिए।
उनले गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर संकलन भइरहेको बताए । उनले आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको जानकारी दिए। सो व्यवस्थाअनुसार सरकार गठन हुन नसके संसद्को ठूलो दलको नेताको हैसियतमा पनि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न सांसदका हस्ताक्षर प्रयोग गरिने केसीले बताए।