धनगढी। सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउन ज्योतिषीसँग साइत जुराएर मिती तोकिएको छ । यही पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएर आवश्यक तयारी गरेको प्रदेशसभा सचिवालायले उक्त दिन स्थगित गरेर केहि पछाडि धकेलेको छ।
प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर पुस १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। अब पुस १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ ।निर्वाचन आयोगले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएसँगै सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शपथ ग्रहणको तयारी सुरु गरेको हो।अहिले सम्म १५ गते शपथ गराएर १८ गते संसद् सुरु गर्ने विषयमा करिब सहमति भइसकेको प्रदेश प्रमुख कार्यालयको स्रोतले जनाएको छ । यता प्रदेश सचिव देब बहादुर बोगटीले पनि यस बिषयमा छलफल भएको जनाए ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल छन्। उनी अछाम निर्वाचन क्षेत्र नं। २ (२) बाट निर्वाचित भएका हुन्। ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने जैशीले बताए। त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। सुदूरपश्चिम प्रदेश सभामा ६ राजनीतिक दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ। ५३ सदस्यीय प्रदेश सभामा १९ सदस्यसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ। नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकिकृत समाजवादीका चार र राप्रपाका एक प्रदेश सभा सदस्य छन्। सुदूरपश्चिम प्रदेश सभामा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एक्लो बहुमत नभएकाले प्रदेशमा गठबन्धन दलहरुको संयुक्त सरकार बन्ने सम्भावना रहेको छ।