धनगढी। धनगढीमा ग्रेडरको ठक्करबाट मृत्यु भएकी चेतना साउँदको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले चालक र कन्स्ट्रक्सनका सञ्चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता चलिरहेको जानकारी दिए। मुद्दा चलिरहेको छ। ४ दिनपछि सबै अनुसन्धान पूरा गरेर सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी भइरहेको उनले बताए।
गत मंसिर १५ गते धनगढीमा पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने बालिका साउँदको बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। गत मंसिर १६ गते मृतकका बालिकाका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका थिए। सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने परिवारको माग छ।
चेतनाका आफन्तको किटानी जाहेरी प्रहरीले दर्ता गरेर अनुसन्धान गर्ने बताएपछि मात्रै शव बुझ्न तयार भएका थिए।चालकको लापरवाहिका कारण बालिकाको ज्यान गएको भन्दै विद्यार्थी र आफन्तले दुई दिनसम्म प्रदर्शन गरेका थिए। कानुनी प्रक्रियामा प्रहरीले सहयोग नगरे पुनः सडकमै आउने परिवारको भनाइ छ। साउँदको मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिन नदिन निषेधाज्ञा समेत जारी गरिएको थियो।बालिकालाई ठक्कर दिने कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल हुन्।


