काठमाण्डौँ। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार डिल्लीबजार कारागार पुगेका छन्। टीकापुर काण्डमा जेलजीवन बिताइरहेका रेशम चौधरीसंग भेटवार्ता गर्न उनी त्यता लागेका हुन्। हिजो चौधरीलाई भेटेर उनले आगामी राजनीतिक परिप्रेक्ष्यमा वार्तालाप गरेका थिए।
डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ । उनीहरूबीच सत्तासमीकरणको विषयमा छलफल भएको जनाइएको छ ।गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताए। उनले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाए । उनले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए। त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उनले बताएका थिए। त्यस्तै, चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइएको हो।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य ललित ताम्राकारको नेतृत्वमा मौन धर्ना कार्यक्रम गरिएको हो। चौधरीसहित थारुहट राजबन्दीलाई रिहाइ गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरुले हिजो झण्डै एक घण्टा धर्ना दिएका थिए। कार्यक्रममा एक दर्जन बढीको सहभागिता रहेको थियो। वर्तमान सत्तारुढ गठबन्धनलाई सरकार बनाउन आश्यक बहुमत पुगेको छैन। ४ सिट रहेको नागरिक उन्मुक्तिले सहयोग गरे गठबन्धनको बहुमत पुग्छ। सो पार्टीको सहयोग र समर्थन लिन नै सरकारले हालै अध्यादेशसमेत ल्याएको थियो ।यद्यपि सो अध्यादेश राष्ट्रपतिबाट अझै जारी भएको छैन । अध्यादेशको चौतर्फी आलोचना र विरोध भइरहेको छ। चौधरीलगायतलाई उन्मुक्ति दिन सो अध्यादेश ल्याइएको थियो ।