कैलाली। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भित्र संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी, प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता बन्न दौडधुप तीव्र बनाएका छन्। कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकांक्षीहरुले लबिङ थालेका हुन्।
२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस यसपटक सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको छ। प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले संसदीय दलको नेता बन्न कसरत गरिरहेका छन् । अहिलेसम्म ६ जना आकांक्षी देखिएका बेला संसदीय दलको नेता बन्न सर्वसम्मत चयन होला वा मतदान होला भन्ने चाँसो बढेको छ।संसदीय दलको नेताका लागि कांग्रेसका प्रदेशसभा सदस्यहरु भेटघाटलाई तीव्रता दिइरहेका छन्।
को–को छन् आकांक्षी?- कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर बम र मेघराज खड्का गरी ६ जना नेता मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका छन् । जस अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुरकै निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह बिष्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछाम निर्वाचन क्षेत्र नं. १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाह, कैलाली निर्वाचन क्षेत्र नं. ४ (२) बाट निर्वाचित प्रकाश बहादुर बम र कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रकाश बहादुर देउवाको नाम संसदीय दलको नेताका लागि चर्चामा छ।
संविधानसभा सदस्य भइसकेका बहादुरसिंह थापा प्रदेशसभामा निर्वाचित नेतामध्ये अरुभन्दा आफू सिनियर भएको दाबी गर्छन् । उनले संसदीय दलको नेता चयनका सम्बन्धमा पार्टीभित्र छलफल नभइसकेको तर चयनका सम्बन्धमा प्रक्रियागत रुपमा पार्टीमा हुने सहमतिका आधारमा सर्वसम्मत पनि हनसक्ने बताए । २०७० मा संविधानसभा सदस्य भएको र कञ्चनपुर कांग्रेसको ३ कार्यकाल सभापति भइसकेकाले आफ्नो दाबी स्वाभाविक रहेको उनी बताउँछन् । हाल काठमाडौंमै रहेका थापाले भने, ‘हामी गठबन्धनबाटै चुनाव लड्यौं र निर्वाचित पनि भयौं । यदि गठबन्धनभित्र कांग्रेसले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने निर्णय भएको अवस्थामा मैलै संविधानसभामा निर्वाह गरेको भूमिका र पार्टीको ३ पटक जिल्ला सभापति भइसकेकाले मेरो दाबी स्वाभाविक रुपमा हुन जान्छ।’ अर्का आकांक्षी मेघराज खड्का संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्ने प्रयास रहने बताउँछन्। ‘प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेपछि सबै जना मुख्यमन्त्री, मन्त्री, दलको नेताको दौडमा हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ। सबै योग्य हुनुहुन्छ,’ खड्काले भने, ‘सबै रेसमा भए पनि एकखालको सहमति बन्छ भन्ने विश्वास छ।
संसदीय दलको नेता बन्ने दौडमा रहेका मेघराज खड्काले एक भन्दा बढी आकांक्षी हुनु स्वाभाविक रहेको बताए। पार्टीले मूल्यांकन गरेको अवस्थामा आफूले जिम्मेवारी निर्वाह गर्न सक्ने उनको भनाइ छ । खड्का कांग्रेसका सुदूरपश्चिम महामन्त्री समेत हुन् ।नेतृत्वको सुझाव, सल्लाह र निर्देशन पनि होला । त्यसैले विवाद होला जस्तो लाग्दैन। सहमतिमै दलको नेता चयन हुन्छ उनले भने ।’कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सहकार्यमा प्रदेशसभाको चुनाव लडेको बताउने दिवानसिंह विष्ट भने पार्टी निर्माणमा पु¥याएको योगदान, त्याग तथा पुराना नेताका हिसाबले दलको नेतामा थापा र आफू नै बलियो दाबेदार भएको बताउँछन् ।आफ्नो योगदानलाई ध्यानमा राखेर नेतृत्वले जिम्मेवारी दिने बताउने संस्थापन इतरका विष्ट सर्वसम्मत रुपमा दलको नेता चयन हुनेमा विश्वस्त छन् । निर्वाचनमा जाँदा आफ्नो पक्षमा बहुमत नपुग्ने बुझेका विष्टले सर्वसम्मत रुपमै नेता चयन हुनुपर्नेमा जोड दिएको देखिन्छ । ‘निर्वाचन हुने अवस्थामा कसैको बहुमत पुग्ला, कसैको नपुग्ला तर पार्टीमा गरेको योगदान, सिनियर, जुनियर जस्ता विभिन्न पक्षहरु प्नि हेर्नुपर्ने हुन्छ,’ विष्टले भने, ‘दलको नेता सर्वसम्मत रुपमै चयन हुन्छ जस्तो लाग्छ ।’
समर्थकहरुले दलको नेता र भावी मुख्यमन्त्रीका रुपमा अघि सारेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले भने खुलेर प्रतिक्रिया दिंदैनन् । दलको नेता र मुख्यमन्त्री यो बन्छ, ऊ बन्छ भनेर नहुने बताउँदै उनले पार्टी नेतृत्व र नेताहरुबीचको समझदारीमा भर पर्ने बताए । ‘अहिले मुख्यमन्त्री म हुन्छु भनेर भन्दिनँ तर संसदीय दलको नेता छानिने व्यक्ति नै मुख्यमन्त्री बन्छ,’ देउवाले भने, ‘दलको नेता पार्टी निर्णयका आधारमा छानिन्छ ।’ उनको यो भनाइलाई कतिपयले नेताहरुले अर्थपूर्ण भनेका छन् ।कैलाली–५ को प्रदेशसभा (२) बाट जितेका प्रकाशलाई, दोहोरिने इच्छा व्यक्त गरेका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर सभापति देउवाले टिकट दिएका थिए । अहिले देउवाले भतिजालाई नै संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाउने चाहना राखेको नेताहरु बताउँछन् । ‘शेरबहादुर दाइ भन्दा दायाँबायाँ हुने वा विद्रोह गर्न सक्ने क्षमता सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित साथीहरुको छैन । उहाँले जे–जे भन्यो त्यही मान्ने परस्थिति बन्न सक्छ,’ कांग्रेसका एक नेताले भने, ‘देउवा दाइले भतिजालाई नै दलको नेता बनाउने सम्भावनालाई नर्कान मिल्दैन तर त्यो उहाँको इच्छा र स्वविवेकमा भर पर्ने कुरा भयो ।’यस्तै प्रकाश बहादुर बमले पनी संसदीय दलको नेता बन्न पनी चाँसो देखाएका छन्।
आकाँक्षी धेरै हुँदा के आन्तरिक निर्वाचन होला त ?
प्रदेशसभा सदस्यमा १९ जना रहेको नेपाली कांग्रेस सुदूरपश्चिममा संस्थापन पक्षभित्रै विभिन्न गुटहरु रहेका छन् । यहाँ संस्थापन पक्षमा प्रधानमन्त्री देउवा पत्नी आरजु, नेता एनपी साउद र रमेश लेखक तथा प्रदेश सभापति वीरबहादुर बलायरको समूह छ भने इतर समूहमा शेखर कोइराला पक्ष छ। १९ जना मध्ये आरजुको समूहमा प्रकाश देउवा, रक्षा महरा, ललिता सुनार लगायतका ८ जना छन् । बहादुर थापा, मेघराज खड्का लगायतका ५ जना एनपी साउँदको पक्षमा र शिवराज भट्ट, मधु भारती लगायतका ३ जना रमेश लेखकका् पक्षमा छन्। तुलसी देवकोटा बिरबहादुर बलायर तथा दिवान विष्ट र कमल शाह कोइराला पक्षका मानिन्छन् ।
तर कतीपय कांग्रेसका अरु नेताहरु कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवाले चाहेकै व्यक्ति दलको नेता हुनेमा शंका नरहेको बताउने गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशसभाका पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता भरतबहादुर खड्का पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकै इच्छाअनुसार संसदीय दलको नेता चयन हुने बताउँछन् ।यद्धपीदलको नेताको लागि २ भन्दा बढी आकांक्षीले दाबी गरेपछि आन्तरिक निर्वाचनमा जाने सम्भावना पनि रहेको बताइन्छ। तर सहमतिबाटै दलको नेता चुन्न पहिलो प्राथमिकता रहने स्रोत बताउँछ । ५ वर्ष कांग्रेस संसदीय दलका नेता भइसकेका आन्तरिक मामिला तथा कानून मन्त्री डा। रणबहादुर रावलले भने, ‘दलको नेतासहित जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कार्यालयले प्रतिनिधि खटाउँछ । खटिआएका प्रतिनिधिको सहजीकरणमा जिम्मेवारी टुङ्ग्याइने उनले बताए । तर आन्तरिक निर्वाचनमा जान सकिने अवस्था नरहेको उनको भनाई छ ।


