कैलाली। कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमल कुमार शाहले भारतबाट अवैध सामान ल्याएको अवस्थामा फेला परेका छन्। कार्यालय प्रमुखले भारतीय बजारबाट आफ्नै सरकारी गाडीमा भन्सार छली (अवैध) एसी ल्याएको अवस्थामा फेला परेको हो। उनले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा चारवटा एसी ल्याएर आएको अवस्थामा कार्यालय परिसरमै फेला परेका हुन्।
कार्यालयको से १ झ ३०२ नम्बरको गाडीमा प्यानाशोनिक कम्पनीको चारवटा एसीसहित रंगेहात फेला परेका छन्। कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाट एसी ल्याएर आएका छन्। भन्सारको रिपोर्टिङका लागि भन्सार पुग्दा कार्यालयमा शाह नभएपछि उनलाई पर्खेर बस्दा उनी आएपछि उनको गाडीमा एसी फेला परेपछि उनले घरायसी प्रयोजनका लागि भारतिय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका छन्। उनीसँग एसीको बिल समेत थिएन्।
बिल मागेपछि शाहले बोली फेरे, त्यसपछि उनले नेपालबाट एसी खरिद गरेको र कार्यालय प्रयोजनको लागि एसी खरिद भएको बताए। गाडी भित्र एसी ल्याएको देखेपछि निकै हतोत्साहित भएका उनले पटकपटक समाचार सार्वजनिक नगर्न आग्रह समेत गरे।उनले व्यावहारिक रुपमा जान आग्रह समेत गरे। राजस्व छलीमा कार्यालय प्रमुख आफै संलग्न देखेपछि राजस्व संकलनमा उनको उदासीनतालाई सहजै अनुमान गर्न सक्ने अवस्था छ। किन भने, गत आर्थिक वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन समेत गर्न सकेको छैन। कार्यालयले लक्ष्यको ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षमा १६ करोड ९४ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच महिनामा दुई करोड ४७ लाख ८५ हजार मात्रै राजस्व संकलन गर्न सकेको छ।