धनगढी। सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा आर्थिक गतिविधि घटेसँगै राजस्व संकलनमा कमी आएको छ । बिगतका आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य भन्दा झण्डै आधा मात्रै राजवस्व संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा एक अर्ब सात करोड ३४ लाख ९० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको भएपनि ५९ करोड छ लाख २२ हजार रुपैयाँ (५५.०२ प्रतिशत) मात्रै राजस्व संकलन भएको छ । सोही अवधिमै गत आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ३६ करोड २१ लाख ७५ हजार संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ५२ करोड ६६ लाख २१ हजार रुपैयाँ (११२.०७ प्रतिशत) संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म एक अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ७३ करोड रुपैयाँ (१२३ प्रतिशत) राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु लक्ष्य घटाउँदै लगेको भएपनि यसवर्ष राजस्व संकलन दर आधा घटेको छ । आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत तथा सूचना अधिकार दुर्गाप्रसाद पौडेलले बजारमा आर्थिक गतिविधि घट्नु, आर्थिक बन्दी हुनु र यहाँ रहेका उद्योगहरु अन्यत्र सर्नुलगायतका कारणले राजस्व संकलन दर घटेको छ । उनले यहाँ रहेको उद्योग अन्तै सरेकाले अन्तः शुल्क असुली अत्यन्त न्युन भएको बताए । उनले अन्तः शुल्क असुलीको लक्ष्य पुनरावलोकन नहुँदा पनि राजस्व संकलन दर घटेको बताए ।
यस वर्ष ४१ करोड ४३ लाख ९४ हजार अन्तः शुल्क असुल गर्ने लक्ष्य निर्धारण भएपनि छ करोड २८ लाख सात हजार रुपैयाँ (१५.१६ प्रतिशत) मात्रै असुल भएको छ । गत वर्ष ६७ करोड ५७ लाख ८० हजार अन्तः शुल्क असुल गर्ने लक्ष्य राखेकोमा ८० करोड ३२ लाख ४३ हजार रुपैयाँ (११८.८६ प्रतिशत) असुल भएको थियो । २०७७÷०७८ को यही अवधिमा ५९ करोड ६० लाख चार हजार अन्त शुल्क असुल गर्ने लक्ष्य राखेकोमा ७२ करोड ६६ लाख ७६ हजार (१२१.९० प्रतिशत) असुल भएको थियो ।त्यसैगरी, स्वास्थ्य सेवा कर असुलीमा पनि झण्डै शतप्रतिशत गिरावट आएको छ । यसवर्ष सो कर एक करोड ८३ लाख ३८ हजार संकलन गर्ने लक्ष्य रहेकोमा चार लाख ४० हजार रुपैयाँ (२.४० प्रतिशत) मात्रै असुल भएको छ । गतवर्ष ४९८.३८ प्रतिशत र २०७७÷०७८ मा २१७.२ प्रतिशत असुल भएको थियो । सूचना अधिकारी पौडेलले बजारमा आर्थिक गतिविधि ठप्प भएको कारणले गर्दा मूल्य अभिवृद्धि कर असुलीमै समस्या उत्पन्न भइरहेको बताए ।
तथ्यांक अनुसार यस वर्षको साउनदेखि कात्तिकसम्म ३५ करोड २१ लाख ८४ लाख मूल्य अभिवृद्धि कर असुल गर्ने लक्ष्य रहेकोमा २३ करोड ८२ लाख ३७ हजार रुपैयाँ (६७.६५ प्रतिशत) मात्रै संकलन भएको छ । गतवर्ष ४२ करोड ३३ लाख ३७ हजार असुल गर्ने लक्ष्य रहेकोमा ३० करोड २४ लाख ६३ हजार (७१.४५ प्रतिशत) असुल भएको थियो ।यसैगरी, यस वर्ष आयकर असुल लगभग लक्ष्यको नजिक छ । २६ करोड ६७ लाख ९३ हजार आयकर असुल गर्ने लक्ष्य राखिएको भएपनि २६ करोड ४८ लाख २९ हजार रुपैयाँ (९९.२६ प्रतिशत) असुल भएको छ । तर गतवर्ष यही अवधिमा आयकर १६३.१२ प्रतिशत असुल भएको थियो । २१ करोड ९६ लाख ४५ हजार आयकर असुल गर्ने लक्ष्य रहेपनि ३५ करोड ८२ लाख ८३ हजार रुपैयाँ असुल भएको थियो । घर बहाल कर र व्याज कर असुली भने सुधार हुँदै गएको छ ।
पहिलो चौमासिकमा २०७७÷०७८ मा ४५.११, २०७८÷०७९ मा ६७.२४ र ०७९÷०८० मा ७२.३९ प्रतिशत घर बहाल कर असुल भएको छ । सो कर यसवर्ष ९६ लाख ७७ हजार असुल गर्ने लक्ष्य रहेपनि ७० लाख पाँच हजार, गतवर्ष एक करोड २६ लाख ६३ हजार असुल गर्ने लक्ष्य रहेकोमा एक करोड २६ लाख ६३ हजार र ०७७÷०७८ मा पाँच करोड ४७ लाख ९८ हजार असुल गर्ने लक्ष्य रहेकोमा दुई करोड ४७ लाख १९ हजार रुपैयाँ असुल भएको थियो । घर बहाल कर उठाउने जिम्मेबारी स्थानीय तहमा सरेको भएपनि बक्यौता रहेको घर बहाल कर आन्तरिक राजस्व कार्यालयले असुल गर्दै आएको छ ।यसैगरी, यसवर्ष व्याज कर १४१.९० प्रतिशत असुल भएको छ । गत वर्ष २५.६४ प्रतिशत मात्रै असुल भएको थियो । यस वर्ष एक करोड २१ लाख ८८ हजार ब्याज कर असुल गर्ने लक्ष्य रहेकोमा एक करोड ७२ लाख ९५ हजार असुल भएको छ भने गत वर्ष दुई करोड नौ लाख ७० हजार असुल गर्ने लक्ष्य रहेकोमा ५३ लाख ७६ हजार मात्रै असुल भएको थियो । यस वर्ष शिक्षा सेवा कर असुलीमा पनि सुधार आएको छ । छ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा आठ हजार रुपैयाँ असुल भएको छ । ०७७÷०७८ मा २८ लाख ११ हजार असुल गर्ने लक्ष्य रहेकोमा २७ हजार मात्रै असुल भएको थियो । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रध्यापक राजेन्द्रविर चन्दले पनि आर्थिक क्रियाकलाप नभएकाले राजस्व असुलीमा ह्रास आएको बताउँछन् । उनले व्यापार व्यवसाय घटेको, उद्योग व्यापारमा बैंकको लगानी घटेको, उद्योग, पर्यटन र घरजग्गा कारोबारमा मन्दी रहेको तथा निर्वाचन केन्द्रित सरकारी बजेटलगायतका कारण राजस्वमा असर परेको बताए । उनले निरन्तर राजस्व असुलीमा ह्रास आउनुले गर्दा आफ्नो आन्तरिक उत्पादन कमजोर रहेको देखिएको बताए । उनले यसले अर्थतन्त्रमा ठूलो असर गर्ने देखिएको बताए ।