कैलाली। सुदूरपश्चिम प्रदेशसभामा यस पटकको निर्वाचनमा ४ जना सांसद मात्रै दोहोरिन सफल भएका छन्। प्रदेशसभाको पहिलो कार्यकालमा सांसद रहेका ५३ मध्ये हाल निवर्तमान भएका १३ जनाले दोस्रो कार्यकालकालागि उम्मेदवारी दिएका थिए । ति मध्ये ४ जना सांसद दोहोरिएर दोस्रो कार्यकाल खान सफल भएका छन् । जसमा माओवादी केन्द्रका दुई जना र एकीकृत समाजवादीका दुई सांसद दोस्रो कार्यकालकालागि निर्वाचित भएका छन् ।
उम्मेदवारी दिएकामध्ये कांग्रेसका दुई, एमालेका तीन, माओवादी केन्द्रका एक, एकीकृत समाजवादीका दुई र पहिलो कार्यकालमा एमालेबाट विजयी तथा अहिले नागरिक उन्मुक्तिबाट उम्मेदवार भएका एकसहित नौ जनाको प्रदेशसभामा दोहोरिने प्रयास सफल हुन सकेन । हाल प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रहेका माओवादी केन्द्रका मानबहादुर धामी दार्चुला (२) बाट र यसअघि सचेतक रहेका अछाम निर्वाचन क्षेत्र २ (२) बाट अक्कल रावल पुनः निर्वाचित भएका हुन् । धामीले एमालेका रामदत्त जोशीलाई पराजित गरे। रावलले एमाले उम्मेदवार भीमबहादुर बिष्टलाई पराजित गरेका हुन् ।
दोहोरिने अर्का दुई उम्मेदवार एकीकृत समाजवादीबाट हालका बहालवाला मन्त्री छन्। भौतिक पूर्वाधार विकासमन्त्री रहेका एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी कैलाली ४ (१) र आर्थिक मामिला मन्त्री रहेका प्रकाशबहादुर रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट पुनः निर्वाचित भएका हुन्। सोडारीले एमालेका भीमबहादुर देउवा र रावलले राप्रपाका धर्मराज जोशीलाई पराजित गरेका हुन् ।पहिलो कार्यकालमा सांसद रहेका आफ्नो पार्टीका १२ जना कांग्रेसका सांसदमध्ये दोस्रो कार्यकालका लागि पनि उम्मेदवार बनाएका दुई जना भने पराजित भए । कांग्रेस संसदीय दलको नेता तथा वहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र बहालवाला सामाजिक विकास मन्त्री गोविन्द बोहरा भने पराजित भए । उनीहरू दुवै जनालाई कांग्रेसभित्र मुख्यमन्त्रीका रूपमा हेरिएको थियो।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ (२) बाट गठबन्धन दलका साझा उम्मेदवार रहेका मन्त्री रावल नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीसँग पराजित भएका हुन् । डडेल्धुरा (२) मा गठबन्धनबाट उम्मेदवार बनेका मन्त्री बोहरा स्वतन्त्र उम्मेदवार तारा जोशीसँग पराजित भएका हुन्। एमालेले दोहोर्याएर उम्मेदवार बनाएका कुनै पनि निवर्तमान सांसदले जित्न सकेनन् । पराजित हुने निवर्तमान सांसदमा एमालेका तीन जनामा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपालु चौधरी माओवादी केन्द्रका रमेश धामीसँग पराजित भए । बाजुरा निर्वाचन क्षेत्र नम्बर (१) बाट बलदेव रेग्मी एकीकृत समाजवादीका नरेशकुमार शाहीसंग पराजित भएका हुन् । सत्तारुढ गठबन्धन अन्तर्गत बाजुराको त्यो क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्मा उम्मेदवार भए पनि प्रतिस्पर्धा गरेका शाहीले जित हात पारेका हुन्। पराजित हुने एमालेका अर्का निवर्तमान सांसद बैतडी (२) बाट लीलाधर भट्ट हुन् । उनी कांग्रेसका शिवराज भट्टसँग पराजित भए । यस्तै, पराजित हुने निवर्तमान सांसदमा एकीकृत समाजवादीका लालबहादुर खड्का हुन्। उनी कञ्चनपुर क्षेत्र नम्बर २ (२) बाट प्रतिस्पर्धा गरेका थिए । गठबन्धनको साझा उम्मेदवार बन्न नपाए पनि प्रतिस्पर्धामा उत्रेका खड्का कांग्रेसका बहादुरसिंह थापासंग पराजित भए। गठबन्धनको साझा उम्मेदवार भएर पनि एकीकृत समाजवादीका निर्वतमान सांसद अम्मर बहादुर साउद कैलाली क्षेत्र नम्बर ३ (२) बाट नागरिक उन्मुक्तिका खुसी राम डगौरा थारुसंग पराजित भए। कान्तीपुर/अर्जुन शाह


