धनगढी। सुदुरपश्चिम प्रदेशमा निर्वाचनको प्रत्यक्ष र समानुपातीक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सरकारको नेतृत्वका लागि चर्चा सुरु भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सुदुरपश्चिम प्रदेशमा गठबन्धनलाई बहुमत पुगेपछि अब गठबन्धनकै सरकार बन्ने लगभग निश्चित जस्तै भएको छ। गठबन्धनतर्फ बहुमत पुगेको छ।
गठबन्धनको सरकार बन्ने पक्कापक्की हुँदा आगामी मुख्यमन्त्री भने कुन दलले पाउने भन्ने विषयमा रस्साकस्सी पर्ने देखीएको छ। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको लागि दाबी गरिरहेका छन् । उनीहरुभित्र पनी मुख्यमन्त्रीकालागी गठबन्धनका नेताले आ आफ्नै दाबी गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ। प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । मत परिणम अनुसार प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ। यसपटक कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सीट पाएका छन्।
कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सीट पाएको छ। माओवादीले ८ प्रत्यक्ष जित्दा ३ समानुपातिक सीट पाएको छ। नेकपा एसले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ सीट पाएको छ। २७ जना सांसद हुँदा सुदूरपश्चिममा बहुमत पुग्छ । तीन दल मिल्दा प्रदेशसभा सदस्यहरूको संख्या ३४ हुन्छ । प्रदेशसभामा सत्ता गठबन्धनभन्दा बाहिर एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ सीट छ। युवाहरूमाझ निकै लोकप्रिय रहेका कैलाली क्षेत्र नम्बर ५ क बाट विजयी नेपाली कांग्रेसका प्रकाशबहादुर देउवालाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउन युवाहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् । उनीहरूले अघिल्लो पाँच वर्ष माओवादीले मुख्मन्त्री पाएको बताउँदै अब नेपाली कांग्रेसले पाउनु पर्ने र त्यसमा पनि प्रकाशलाई नै मुख्यमन्त्री बनाउनु पर्ने बताइरहेका छन्।
यस्तै नेकपा माओवादीले चुनावअघि गठबन्धनसँगको वाचाअनुसार प्रदेशको मुख्यमन्त्री आफूहरूले नै पाउने दाबी गरिरहेको छ । डडेल्धुराबाट विजयी माओवादीका नेता खगराज भट्टले सहमतिअनुसार आफूनै मुख्यमन्त्री हुने दाबी गरे । उनले मुख्यमन्त्रीकै लागि आफू प्रतिनिधि सभा छाडेर प्रदेशमा चुनाव लडेको बताए ।निर्वाचनअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्ने घोषणा गरेका थिए । उनले पार्टीमात्रै घोषणा गरेनन् माओवादी केन्द्रबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेसमेत बताएका थिए। भट्ट र देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा हो। त्यस्तै समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको मुख्यमन्त्रीमा आफू पनि आकांक्षी रहेको बताए।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरूलाई भेटेर आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन पहल गर्न आग्रहसमेत गरिसकेको बताए। उनले यहीँ गठबन्धनको सरकारलाई अगाडि बढाउने सहमतिसमेत भैसकेका कारण शीर्ष नेताहरूले कस्तो निर्णय लिन्छन् त्यही अनुसार अगाडि बढ्ने बताए । सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली कांग्रेसका नेता बहादुरसिंह थापा पनि यतिबेला काठमाडौँमा छन् । उनले गठबन्धनको निर्णय नै अन्तिम हुने बताउँदै यदि कांग्रेसले मुख्यमन्त्री पाउने भए आफू नै त्यसको दाबेदार रहेको बताए । उनले दलको नेताका लागि आफू सबैभन्दा सिनियर रहेकोले त्यसमा कुनै शंका नरहेको बताएका छन् । यस्तै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भित्रभित्रै पनी आकाँक्षीहरु मुख्यमन्त्रीको लागि दाबी गरिरहेका छन् । मुख्यमन्त्रीका लागि दाबी गरिरहेकाबाट को मुख्य मन्त्री बन्छ । कस्ले प्रदेश सरकारको नेतृत्व गर्छ भन्ने चाँसो र चर्चा हुन थालेको छ ।