धनगढी। नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितेको टोली सुदूरपश्चिममा आएका छन्। प्रधानमन्त्री देउवा १९ जनाको जम्बो टोली लिएर सुदूरपश्चिमतर्फ आएका हुन्। नेपाली सेनाको जहाज लिएर देउवा आज धनगढी उडेका छन।
कासा-एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली भर्खरे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट धनगढीका लागि प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको नेतासमेत रहेका अछामबाट नवनिर्वाचित साँसद तथा श्रममन्त्री शेरबहादुर कुँवर पनि सहभागी रहेका छन्। धनगढीमा सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी आएका हुन्। अहिले दिउँसो महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।
महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन। यस वर्षको महोत्सवमा कृषि उपज, खानाका परिकार, व्यापार व्यवसाय लगायतको ४ सय स्टल राखिएको सङ्घले जनाएको छ। महोत्सव अवधिभरि करिब १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको सङ्घका अध्यक्ष कुँवरले बताएका छन्।