दार्चुला। दार्चुला व्याँसका नरसिंह विष्ट हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्। दार्चुलाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले आज उनीहरु पक्राउ परेको जानकारी दिए।
उनका अनुसार ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्ट रहेका छन्। यसअघि (मंसिर १२ गते) २५ वर्षीय दिपक विष्टलाई पक्राउ परेको र उनीमाथी बयान सोधपुछसँगै जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक शाहीले बताए। नरसिंह विष्ट मंसिर ४ गतेको निर्वाचनको अघिल्लो दिन बेपत्ता भएका थिए। भोलिपल्ट मंसिर ४ गते० उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटेका थिए। उनी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए।