धनगढी। धनगढीको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया अघि बढाउन सकेको छैन् । मंसिरको तेस्रो साता सकिनै लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य निर्धारण प्रक्रियामा ढिलाई गरेको छ। जसकारण धनगढीको कम्पनीले पनी धान खरिद गर्न नसकेको हो। कम्पनीले धान खरिद गर्नमा ढिलाई गरेपछि किसानहरु सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन्।
सरकारले धान खरिदमा ढिलाई गर्दा किसान मा परेका हुन्।धनगढी–१२ का किसान भवराज मिश्रले दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैंया निर्धारण गरेकोमा त्यतिवेला व्यापारीले पनि राम्रै मूल्य दिएको बताए । उनले गतवर्ष वर्षाले भिजेको भन्दै सरकारले धान नै खरिद नगरेकाले सस्तोमा व्यापारीलाई बेच्न बाध्य भएको बताए । तर उनले यसवर्ष अहिलेसमम्म मूल्य नतोक्दा सस्तोमा धान बेच्नुपरेको बताए। उनले हिउँदे बाली लगाउन धान बेचेर आएको पैसाले खेत जोत्ने र मलखाद खर्चको जोहो गरीरहनुपरेको बताए।
यसरी व्यापारीलाई सस्तोमा धान बेच्नुपरेकोले अहिले व्यापारीले किसानबाट बढीमा २० रुपैयाँमा धान खरिद गर्ने गरेको उनको भनाई छ। कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य तोकेको तर, खरिद नगर्दा गहुँ छर्नका लागि व्यापारीसँग सस्तोमा बिक्री गर्नुपरेको बताए। यस पटक तीन वर्षअघिको मूल्यभन्दा पनि कम मूल्यमा धान बिक्री गर्नुपरेको किसानहरु बताउँछन्। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको छ। कम्पनीकी प्रमुख इन्जिला बस्नेतले केन्द्रीय कार्यालयबाट परिपत्र नआउँदा धान खरिदमा ढिलाई भएको बताइन्। विगतमा धान खरिद प्रक्रिया मंसिर पहिलो वा दोस्रो सातामै भएकोमा यस वर्ष केन्द्रीय कार्यालयबाट परिपत्र नआएको उनले बताइन्।
एक–दुईभित्रै प्रक्रिया अघि बढ्ने उनले जानकारी दिइन्। चामलको मूल्य सरकारको भन्दा निजीमा सस्तो भइरहेका कारण पनि अहिले धान खरिद प्रक्रियामा ढिलाई भएको उनको भनाई छ। पहाडी जिल्लामा ढुवानी गर्दा चामल बजारभन्दा महँगो मूल्यमा आम उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिइन्। ढुवानी गरेको चामलभन्दा पनि त्यहाँका उपभोक्ताहरुले बजारमै खरिद गरिरहेका छन्। मूल्य समायोजन गर्न केन्द्रीय कार्यालयमा पनि जानकारी गराइएको जनाइएको छ। उनले निजीमा चामल सस्तो पाइन लागेपछि कम्पनीको चामल खरिद न्यून हुन लागेको बताइन्। कम्पनीले २०७७ मा कैलालीको धनगढी, टिकापुर, जोशीपुर र भजनीबाट धान खरिद गरेको थियो। कम्पनीले प्रदेशको बाजुरा, बैतडी, अछाम र डडेल्धुराका साथै कर्णालीको मुगुमा चामल ढुवानी गर्दै आइरहेको छ। गतबर्ष बेमौसमी वर्षाका कारण कम्पनीले धान खरिद गर्न सकेको थिएन।

