काठमाडौं। दार्चुलामा महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन गरिएको छ । वैद्यनिकट अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्र र माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हु्न्।
उनीहरुले त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर पनि जलाएका छन्। भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन्। त्यस्तै धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ। लैनचौरस्थित भारतीय दूतावास कार्यालय अगाडि पुगेर दार्चुलामा नेपाली नागरिकमाथि भएको ज्यादतीको विरोध गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।
महाकाली नदीको अतिक्रमणसँगै दार्चुलास्थित नेपाली नागरिमाथि भएको ज्यादती आफूहरुलाई असह्य भएको भन्दै त्यसको प्रतिकारमा उत्रिएको उनको भनाइ छ। सार्वभौम सम्पन्न नेपालमाथि भारतको कुनैपनि हस्तक्षप र बलमिच्याइँ स्वीकार्य नरहेको गजुरेलले चेतावनी दिए। भारतले गरेको अतिक्रमणविरुद्ध नेपाल सरकार जवाफदेही हुनुपर्ने भएपनि मौन रहेकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ। माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला फोटो जलाइएको छ। प्रदर्शनकारीले ‘भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि मिच्न पाइँदैन-हेपाहा छिमेकी चाहिँदैन’जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए।