धनगढी। धनगढीमा जारी निषेधाज्ञा भोली शनिवार बिहानदेखि मात्रै हटेको छ। धनगढीमा बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेपछि हटेको प्रसासनले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज बिहान ४ बजेपछि मात्रै निषेधाज्ञा हट्ने आदेश जारी गरिएको बताए।
बैतडीको डिलासैनी गाउँपालिका–६ की बालिका साउदको बिहीबार धनगढी उपमहानगरपालिका–५ मा कालिका कन्सट्रक्सनको ग्रेडरले ठक्कर दिदा मृत्यु भएको थियो। उनको मृत्युपछि न्याय माग्दै स्थानीय र विद्यार्थीले आन्दोलन गरेपछि बिहीबार साँझ ७ देखि लागु हुने गरी स्थानीय प्रशासनले घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो।
निषेधाज्ञाकाबीच पनि शुक्रबार बिहानैदेखि स्थानीय र विद्यार्थीले विरोध प्रर्दशन गरेका थिए। प्रदर्शनका क्रममा अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको थियो । यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार शव बुझिएको हो। चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए।