धनगढी। धनगढीमा ग्रेडरले किचेर मृत्यु भएकी चेतना साउँदको शव आफन्तले बुझेका छन्। बिहीबार धनगढीको हसनपुरस्थित पञ्चोदयमा ८ मा अध्यनरत १५ बर्षीय चेतनाको स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रवार (आज)शव बुझिएको हो। चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको उनले बताए।
अब शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने छ। प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ। बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका(२८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्। चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरको ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन। साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो। प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकै अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको र प्रदर्शनमा उत्रिएका २३ जना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको थियो।