कैलाली। कैलालीको टीकापुर बजारका दुग्ध डेरी तथा बेकरी उद्योग पसलमा अनुगमन गरिएको छ। खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, ईलाका प्रशासन कार्यालय टीकापुर, ईलाका प्रहरी, उद्योग बाणिज्यसंघ टीकापुर तथा उपभोक्ता हित संरक्षण मञ्च टीकापुरको संयुक्त अनुगमन टोलीद्धारा सो उद्योग पसलहरुमा अनुगमन गरिएको हो।
अनुगमनपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले टीकापुरका दुग्ध पदार्थ बेचविखन गर्ने र वेकरी गरी ४ ओटा पसलमा अनुगमन गरिएको जानकारी दिए। कार्यालय प्रमुख दाहालले अनुगमनका क्रममा म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको जानकारी दिएका छन्। दुध डेहरी उद्योग भनिएपनि मापदण्ड पूरा नगरेका पसल भेटिएको बताए। उनले मानिसको स्वास्थ्यसँग जोडिएका दुग्ध र बेकरी उद्योग पसलमा लापरवाही नगर्न सुझाब दिँदै खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न जोड दिएका छन्।
उनले अनुगमनका क्रममा केही दुध डेहरीलाई ३ पटकसम्म मापदण्डमा आउन अनुरोध गरे पनि अटेरी गरेकाले सात दिनको अल्टिमेटम दिएको बताए । त्यस उद्योगमा अनुमती बिनाको उत्पादन बनाउने, सरसफाइको कमी, पूर्वाधारको कमी देखिएको पाइएको बताए। त्यस्तै बेकरी तथा केक पसलमा सरसफाइको कमी, दक्ष जनशक्ति नभएका, अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको प्रयोग भेटिएकाले कडाइका साथ नियम पालना गर्न आग्रह गरिएको छ । नगरपालिकालाई खाद्य स्वच्छता सुधार ऐन अनुसार यी उद्योग तथा डेरी पसललाई कानूनी दायरामा ल्याइ विशेष निगरानीमा राख्न दाहालले आग्रह गरेका छन् । यस्तै अनुगमनका क्रममा मङ्सिर १५ गते टीकापुर नगरपालिकाले सरोकारवालासँग छलफल गरी बजार व्यवस्थित गर्नेबारे सहमती भएको जनाएको छ ।