दार्चुला। दार्चुलामा प्रत्यक्ष र सामानुपातिकतर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।
प्रदेशसभा क्षेत्र नम्बर १ मा ३१ हजार ५४२ मत खसेकोमा ३० हजार ४०८ मत सदर र एक हजार १३४ मत बदर भएका छन् । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ मा २६ हजार २७२ मत खसेकोमा २५ हजार ५१७ मत सदर र ७५५ मत बदर भएका छन् । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६५ प्रतिशत मत खसेको थियो। प्रत्यक्षभन्दा समानुपातिक निर्वाचन प्रणालीमा मत बदर बढी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा समानुपातिकमा खसेको कुल मत ५८ हजार ९९१ मध्ये ५६ हजार ५२२ मत सदर र दुई हजार ४६९ मत बदर भएको छ । प्रदेशसभा सामानुपातिकतर्फ कुल खसेको ५८ हजार ८६० मतमध्ये ५५ हजार १३५ मत सदर र तीन हजार ७२५ मत बदर भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ । निर्वाचन आयोगको उदासीनता र उम्मेदवार तथा राजनीतिक दलहरुले समेत मतदाता शिक्षामा ध्यान नदिएका कारण बदर मतको सङ्ख्या बढेको पाइएको छ ।गोरखापत्र