घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दीपक आचार्यको सरकारी क्वार्टरमा गरिएको जाँड पार्टीमा लफडा भएको छ । घोडाघोडीका मेयर खडक रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरी पनि पार्टीमा सहभागी थिए ।
क्वाटर नजिकै रहेको होटल माछा घरमा रहेका मेयरसहितका वडाध्यक्षसँग बसेर मदिरा सेवन गरेका अधिकृत आचार्य र १ का वडाध्यक्ष ओझाबीच त्यहीँ विवाद सुरू भएको थियो । कि तपाईं बस्नुस् कि म बस्छु भनेर त्यहीँ वडाअध्यक्षले भन्नू भएको थियो सँगै रहेका एकजनाले भने, त्यसपछि हाकिम सा’प जानुभयो ।
होटलपछि आवासमा पुगेर पुन खानपिनका लागि आग्रह गर्दै आचार्यले सबैलाई बोलाएको बताइएको छ । त्यहाँ हाकिम र १ का अध्यक्षले बियर, मेयर र ७ का अध्यक्षले भोड्का खाएको बताइएको छ । अन्य २ अध्यक्षले भने मदिरा सेवन गरेनन् । फेरि हाकिम र १ का अध्यक्षबीच घोचपेच चलेको थियो । पुराना बखेडा झिकेपछि प्रशासकीय अधिकृत आचार्यले अध्यक्षलाई अपशब्द बोलेको र सबैले सम्झाउँदा नमानेको बताइएको छ ।
अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनुभयो र टेबलमा खुट्टा बजार्नुभयो । त्यसपछि टेबल फुट्यो, सँगै रहेका एकजनाले सुनाए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साँझैबाट मदिरामा लठ्ठ रहेको बताए । पार्टी चल्नुभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृत इप्रका सुखडमा पुगेको बताइएको छ । गेटमा पुगेका उनलाई प्रहरी जवानले सम्झाएर फर्काएका थिए ।
मेयर रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए । आफूले चित्त नबुझेका केही कुरा मेयरलाई सोधेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । उनले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बाहिर ल्याउने जानकारी दिए ।