बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका ५ मा शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको छ। गत आइतवार मंसिर ४ गते मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज मतदान भएको हो। आज बिहान ७ बजे देखी ५ बजेसम्म भएको मतदानमा ५ सय ९७ मतदाताले मतदान गरेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
सो केन्द्रमा ९ सय ९९ जना मतदाता रहेका छन्। २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको र शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिकामा गएको आइतवार मतदानका क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो । कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । सो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ।
यस्तै बाजुराका अरू २४ वटा मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन्। उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ। आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत पौडेलले बतएका छन्।